व्यवसायलाई थप चलायमान बनाउन झापा र सुनसरीका व्यवसायीहरूले व्यवसाय प्रवर्द्धनका लागि असल अभ्यास साटासाट गर्ने भएका छन्।
बिर्तामोडका व्यवसायी र सुनसरीको धरानका व्यवसायीबीच व्यवसाय प्रवर्द्धनका लागि असल अभ्यास साटासाट गर्ने भएका हुन्। कोभिडपछि सुस्ताएको व्यवसायलाई चलायमान बनाउँदै महिलाहरूलाई आर्थिक उर्पाजनमा समेत थप टेवा पुर्याउने उद्देश्यले उत्पादनदेखि बजारीकरण सम्मका लागि झापा र सुनसरीका व्यवसायीहरूले सहकार्य गर्ने भएका हुन्। जसका लागि बिर्तामोड उद्योग वाणिज्य सङ्घ अन्तरगत रहेको महिला उद्यमी समूह र सुनसरी उद्योग वाणिज्य सङ्घ धरानका व्यवसायीसँग सहकार्यका लागि समझदारी भएको छ।

सुनसरी उद्योग वाणिज्य सङ्घ धरानका कार्यवाहक अध्यक्ष गोपाल श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत सुनसरी उद्योग वाणिज्य सङ्घकी सदस्य तथा महिला उपसमिति अध्यक्ष वर्षा अग्रवाल श्रेष्ठले गरेकी थिइन्।

कोशी प्रदेशका महिला उद्यमीहरूलाई जडीबुटीबाट साबुन उत्पादन गर्ने तालिम प्रदान गर्दै आएको र आफूले पनि समृद्धि प्राकृतिक साबुन उद्योग सञ्चालन गर्दै आएको उनले बताएकी थिइन्। निम, तीतेपाती, गाँजा सहितका विभिन्न सामग्री प्रयोग गर्दै साबुन उत्पादन गर्ने र त्यसलाई बजारीकरण गर्दै आफूले आर्थिक उपार्जन गर्ने गरेको र अरूलाई समेत रोजगारी दिलाएको कार्यक्रममा घिमिरेले जानकारी दिइन्। उनले कोशी प्रदेशका धरान सहित धनकुटा, इलाम, पाँचथर, ओखलढुङ्गा सहितका धेरै ठाउँमा तालिम प्रदान गर्दै सयौँ महिलालाई स्वावलम्बी बनाउन भूमिका निर्वाह गरेको धारणा राखेकी थिइन्।
कार्यक्रममा सुनसरी उद्योग वाणिज्य सङ्घका सदस्य जयप्रकाश शर्माले धरानका व्यवसायीहरूको वस्तुस्थितिका विषयमा जानकारी दिएका थिए।

झुम्का उद्योग वाणिज्य सङ्घका अध्यक्ष नवीन कुमार चौधरीले समेत झापा र सुनसरीका व्यवसायीहरूले गरेको व्यवसाय प्रद्र्धनमा अभ्यास अभ्यास साटासाट कार्यक्रमको प्रशंसा गरेका थिए। कार्यक्रममा बोल्दै उनले झुम्का उद्योग वाणिज्य सङ्घ समेत सहकार्यका लागि तत्पर रहेको बताए।
कार्यक्रमको सञ्चालन सुनसरी उद्योग वाणिज्य सङ्घका महासचिव महेन्द्र प्रधानले गरेका थिए।