कर सम्बन्धी शिक्षा र सूचना पाउने करदाताको अधिकार सुनिश्चित गर्ने उद्देश्यले काठमाडौँ महानगरपालिकाको वडा नम्बर १५ ले कर शिक्षा कार्यक्रम थालेको छ।
कर तिर्न आउने करदातालाई करमैत्री वातावरण प्रदान गर्ने, जानकारी लिन चाहनेहरूका लागि परामर्श गर्ने र समय समयमा कर तथा राजस्व क्षेत्रका अधिकारी तथा विज्ञसँग अन्तरक्रियात्मक संवाद गरेर वडाले कर शिक्षालाई अगाडि बढाएको हो। 
सोमबार वडामा आयोजना गरिएको कार्यक्रममा बोल्दै महानगरपालिकाको वित्त समितिका संयोजक एवं वडा नम्बर १५ का अध्यक्ष ईश्वरमान डङ्गोलले, कर लिएर सुविधा दिने नीतिअनुरूप करको दर र दायरा निर्धारण गरिएको बताए।
जापान, सिंगापुरलगायत देशहरूमा स्थानीय सरकारले सङ्कलन गर्ने कर र प्रदान गर्ने सेवा उद्धृत गर्दै उनले भने,‘सेवा पाए र कर रकमको सदुपयोग भएको सुनिश्चित भएपछि करदातालाई कर तिर्न करकर गरिरहनु पर्दैन। कर मात्र लिने सेवा नदिने भएपछि मात्र करकर गर्नु पर्ने हो। यस कारण महानगरपालिकाले नागरिकको अपेक्षाअनुसार सेवा प्रवाह र सुविधा वितरण गरिरहेको छ।’
कार्यक्रममा करको सिद्धान्त, यसको प्रचलन, करदाताका दायित्व र अधिकारलगायत विषयमा आन्तरिक राजस्व कार्यालय, कलङ्कीका प्रमुख कर अधिकृत धनकुमार राई, महानगरपालिकाको राजस्व विभागका प्रमुख दीपक अधिकारी र राजस्व कार्यालयका कर अधिकृत विजयप्रसाद लामिछानेले प्रस्तुतीकरण गरेका थिए। 
प्रस्तुतिपछि आय कर, मूल्य अभिवृद्धि कर, अन्तःशुल्क, कर छुट सुविधा, कर परीक्षण, अग्रिम करकट्टी, मिसम्याच, दर्ता, दर्ता खारेजी र स्थगनलगायत विषयमा छलफल भएको थियो। यस्तै पान नम्बर, व्यक्तिगत पान, व्यवसायिक पान, डब्लु पान (विथ होल्डिङ् पान) र यी नम्बरहरूको प्रयोग सम्बन्धी जानकारी गराइएको थियो। 
कार्यक्रममा व्यक्ति, सङ्घसंस्था तथा व्यवसायिक कारोबार गर्ने व्यवसायीहरूलाई बोलाइएको थियो।