नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिलेको सरकारले अब एक दिन पनि नेतृत्वमा बस्ने औचित्य गुमाएको बताएका छन्। नेपाल कम्युनिष्ट पार्टीको ७७ औँ स्थापना दिवस तथा १५६ औँ लेनिन जयन्तीको अवसरमा बोल्दै उनले केपी ओली नेतृत्वको सरकारको जन्म नै भष्ट्राचारीको रक्षा गर्न भएको बताएका हुन्।
उनले भने, ‘अहिले देशमा राजनीतिक जस्तो स्थिति बनेको छ त्यस्तै चुनौतीपूर्ण स्थिति बनेको छ। अहिलेको सरकार खासगरी केपी ओली नेतृत्वको जो सरकार छ यसको जन्म नै अप्राकृतिक छ। अलोकतान्त्रिक छ, अपार्दर्शी छ, असंवैधानिक छ। यसले गर्ने भनेको भष्ट्राचारीको रक्षा हो। यो सकार अब एक दिनमा पनि नेतृत्वमा बस्ने औचित्य गुमाइसकेको छ, हजारौँ र लाखौँ शिक्षक सडकमा छन्। ती शिक्षकको समस्या समाधान गर्न गम्भीर हुनुको सट्टा सरकार र त्यसको नेतृत्व गर्ने प्रधानमन्त्री शिक्षकलाई अपमानित गर्ने, गाली गर्ने, तिनलाई हप्काउने बाहेक उहाँले केही पनि गर्नु भएन। यो भन्दा लाजमर्दो कुरा के हुन्छ। लाखौँ शिक्षक र देशभरिका विद्यालयहरू सङ्कटमा छन्।’
साथै उनले सरकार शिक्षिका माग सम्बोधन गर्न लाग्नुको साटो उनीहरूलाई अपमानित गर्न लागेको बताए। उनले सरकारले शिक्षकहरूलाई अपमानित गर्ने काम छोडेर गम्भीर रूपमा संवाद गर्न समेत सरकारलाई सुझाव दिए।
उनले भने, ‘सरकारले आम शिक्षकहरूलाई अपमानित गर्ने काम छोडेर तुरुन्तै गम्भीर ढङ्गले वार्ता, संवाद गरेर हल गर्न कोसिस गरोस्, शिक्षकहरूको मुख्य समस्या भनेको ऐन निर्माणको कुरा हो। मैले धेरै मेहनत गरेर त्यो विधेयक संसदमा पु¥याएको छु। उपसमितिमा छलफल छ। त्यसलाई छलफल गरेर टुङ्ग्याउनेबारे शिक्षकहरूसँग किन कुरा गरिँदैन ? किन शिक्षकहरूलाई अपमानित गरिन्छ ?’