निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियालाई शुक्रवार बिदाइ गरिएको छ। आयोगले एक कार्यक्रमको आयोजना गरी थपलियालाई बिदाइ गरेको हो। 
आयोगको प्रमुख निर्वाचन आयुक्त थपलिया नेपालको संविधानको धारा २४५ को उपधारा (३) बमोजिमको छ वर्षको पदावधि पूरा गरी आज वैशाख ६ गते निवृत्त हुँदै छन्।
आयोगका पदाधिकारी एवं कर्मचारीहरूले एक कार्यक्रमका बीच प्रमुख आयुक्त थपलियाको बिदाइ गरेका थिए। बिदाइ कार्यक्रममा प्रमुख आयुक्त थपलियालाई आयुक्तहरू रामप्रसाद भण्डारी, डा. जानकी कुमारी तुलाधर र सगुन शमशेर जबराले पुष्पगुच्छा र मायाको चिनो प्रदान गरेका थिए। सो अवसरमा आयोगका सम्पूर्ण कर्मचारीहरूको तर्फबाट आयोगका सचिव भरतमणि सुवेदी र महाशाखा प्रमुखहरूले पुष्पगुच्छासहित बिदाइ गरेका थिए। थपलिया संविधानको धारा २४५ बमोजिम वि.सं. २०७६ वैशाख ६ गते प्रमुख निर्वाचन आयुक्त पदमा नियुक्त भएका थिए। 
बिदाइ समारोहमा प्रमुख निर्वाचन आयुक्त थपलियाले निर्वाचन आयोगको छ वर्षको अनुभवलाई लोकतन्त्रको सुदृढीकरण र निर्वाचन व्यवस्थापन सुधारका लागि सृजनात्मक चिन्तन र अनुभूतिको आत्मदर्शन गर्ने महत्त्वपूर्ण अवसरका रूपमा लिएको बताए। 
उनले भने,‘यस अवधिमा प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहका आवधिक निर्वाचन, राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन, राष्ट्रियसभा सदस्य निर्वाचन र विभिन्न उपनिर्वाचन स्वच्छ र स्वतन्त्र रूपमा सम्पन्न भई जनमतको स्वःस्फुर्त अभिव्यक्तिमार्फत लोकतन्त्रको संस्थागत सुदृढीकरणमा योगदान पुगेको छ।’