नेपालको सबैभन्दा प्रतिष्ठित अन्तर्राष्ट्रिय स्टार्टअप प्रतिस्पर्धा स्टार्टअप वर्ल्ड कप नेपाल २०२५ को ग्रान्ड फिनाले आगामी वैशाख ११ गते (अप्रिल २४) काठमाडौँमा हुने भएको छ।
पाँचौँ संस्करणमा प्रवेश गरेको विश्व प्रतिस्पर्धाले नेपाली स्टार्टअपहरूलाई अमेरिकाको सिलिकन भ्यालीमा हुने ग्लोबल फिनालेमा नेपालको प्रतिनिधित्व गर्ने अवसर दिँदै आएको छ। 
स्टार्टअप वर्ल्ड कप नेपालले नेपालका उत्कृष्ट स्टार्टअपहरूलाई विश्वभरका लगानीकर्ता, सल्लाहकार, र उद्यमशील व्यक्तिहरूसँग जोडेर उनीहरूको नेटवर्क विस्तारमा सहयोग गर्दै आएको छ।
जसले गर्दा नेपाली स्टार्टअपहरूको विश्व प्रतिस्पर्धी क्षमता अभिवृद्धि हुनुका साथै नेपालको स्टार्टअप इकोसिस्टमलाई सबल र गतिशील बनाउने आयोजना विश्वास रहेको छ। 
यस कार्यक्रमको आयोजना स्टार्टअप हब नेपालले औद्योगिक व्यवसाय विकास संस्थान सँगको सहकार्यमा गरिरहेको छ। आइसिटी एसोसिएसन अफ नेपाल, रोबोटिक्स एसोसिएसन नेपाल, तथा अन्य नवप्रवर्तनप्रति प्रतिबद्ध संस्थाहरूले समेत कार्यक्रमलाई सहयोग र समर्थन गरेका छन्।
वर्ल्ड ट्रेड ग्रुप नेपालले यसको सिस्टर कन्सर्न स्टार्टअप हब नेपालमार्फत नेपालमा यो प्रतियोगिता भित्र्याएको हो।
प्रतियोगिताले नेपाली स्टार्टअपहरूलाई विश्वव्यापी सोच राख्न प्रेरित गर्ने स्टार्टअप वर्ल्ड कपका साउथ एसिया प्रमुख तथा नेपालका अध्यक्ष डा. शम्भु पोखरेलले जनाएका छन्। 
राष्ट्रिय विजेताले अमेरिकाको (सिलिकन भ्याली) सान फ्रान्सिस्कोमा हुने ग्लोबल फिनालेमा ९९ अन्य देशका विजेता, ३०० भन्दा बढी मल्टी बिलियन डलरका भेन्चर क्यापिटल कम्पनीहरू, र हजारौँ स्टार्टअपहरूका अगाडि आफ्नो आइडिया प्रस्तुत गर्न पाउने व्यवस्था रहेको डा. पोखरेलले बताए। यो केवल प्रतियोगिता होइन—यो त एउटा ग्लोबल लञ्चप्याड हो,’ डा. पोखरेलले भने। 
वैशाख ११ गतेको प्रतियोगितामा देशभरका प्रतिस्पर्धीहरूबाट छानिएका १० उत्कृष्ट स्टार्टअपहरू प्रतिस्पर्धा गर्नेछन्। र ती १० उत्कृष्ट मध्ये पनि अन्तर्राष्ट्रिय स्तरका जजहरूबाट छानिएका एक जना स्टार्टअपलाई नेपाल च्याम्पियन घोषणा गरिनेछ।
जसले नेपाललाई प्रतिनिधित्व गर्दै ग्लोबल फिनालेमा १० लाख अमेरिकी डलर (करिब १४ करोड रुपैयाँ) को लगानी पुरस्कार जित्ने अवसर पाउनेछ। 
स्टार्टअप वर्ल्ड कपको स्थापना विश्वकै धनी व्यक्ति एलन मस्कको स्पेस एक्सको फण्डरेजिङ कम्पनी पिगासस टक भेन्छरले सुरु गरेको हो। यो विश्वकै सबैभन्दा ठुलो स्टार्टअप प्रतियोगिता मानिन्छ, जसले उद्यमीहरूलाई ग्लोबल एक्सपोजर, लगानी, र विश्व स्तरमा आफ्नो सञ्जाल विस्तार गर्ने अवसर दिने गरेको छ। 
नेपालको यस अन्तर्राष्ट्रिय कार्यक्रममा सहभागिताले देशको वैश्विक स्तरको स्टार्टअप इकोसिस्टम निर्माण गर्ने यात्रामा ऐतिहासिक उपलब्धि दर्शाउँने आयोजकको विश्वास रहेको छ।
स्टार्टअपलाई राष्ट्रिय विकासको प्रमुख आधार मान्दै, प्रधानमन्त्री केपी शर्मा ओलीले हालै “स्टार्टअप नेशन २०३०” नामक महत्त्वाकाङ्क्षी योजना सार्वजनिक गर्नुभएको छ, जसले नेपाललाई क्षेत्रीय नवप्रवर्तन केन्द्रका रूपमा स्थापित गर्ने लक्ष्य राखेको छ।
सरकारको योजनासँग समन्वय गर्दै, स्टार्टअप वर्ल्ड कप नेपाल देशको स्थानीय स्टार्टअप इकोसिस्टमलाई प्रवर्द्धन गर्ने महत्त्वपूर्ण स्तम्भको रूपमा रहेको वल्र्डकपका दक्षिण एसिया प्रमुख डा. शम्भु पोखरेलले बताए। 
नेपाली स्टार्टअपहरूलाई यस अन्तर्राष्ट्रिय अवसरमा सहभागी हुन र दर्ता गर्न प्रोत्साहित गरिएको छ।
आवेदन दिन : swc.startuphubnepal.com