मकवानपुरगढीमा इभी गाडी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। एक जनाको उपचारको क्रममा र एक जनाको दुर्घटना स्थलमै मृत्यु भएको हो। अरू १३ जना यात्रु घाइते भएका हुन्।
आज बिहान १ बजेको समयमा मकवानपुरको मकवानपुरगढी गाउँपालिका वडा नम्बर–२ धरमपानी स्थित कान्तिलोक पथ सडक खण्डमा काठमाडौँ तर्फबाट हेटांैडा तर्फ आउँदै गरेको बा प्र ०१–००६ ख ७०७२ नम्बर इभी गाडीमा १४ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले बताए ।
दुर्घटनामा रौतहट दुर्गा भवानी गाउँपालिका वडा नम्बर–५ बस्ने ५० वर्षकी निलम देवी राउतको उपचारको क्रममा हेटौँडा अस्पतालमा मृत्यु भएको हो। त्यसैगरी सर्लाही बागमती गाउँपालिका वडा नम्बर– ७ बस्ने १३ वर्षकी मानुसी मगरको घटनास्थलमा नै मृत्यु भएको हो। उनलाई प्रहरीले खोजतलास गर्ने क्रममा आज बिहान साढे ५ बजे मात्र दुर्घटना स्थल नजिक खोल्सामा मृत अवस्थामा फेला परेको थियो।
दुर्घटनामा घाइतेहरू १४ जनाको हेटौँडा अस्पताल र मकवानपुर सहकारी अस्पतालमा उपचार भइरहेको छ। तीव्र गतिमा आएको गाडी मोडबाट तल खसेको प्रहरीको अनुमान छ।
सडकबाट गाडी करिब २ सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता अर्यालले बताए। गाडी पूर्णरुपमा क्षति भएको छ। चालक सर्लाही बागमती गाउँपालिका–५ का २९ वर्षीय कमलबहादुर दर्लामी पनि घाइते भएका छन्। उनको उपचार प्रहरीको निगरानीमा भइरहेको छ।