प्रधानमन्त्री केपी शर्मा ओलीले सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन आयोग (टीआरसी) मा पदाधिकारी नियुक्ति प्रक्रियामा सरकारले काम गरिरहेको बताएका छन्।
नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी सङ्गठन नेपालको छैटौँ राष्ट्रिय महाधिवेशनमा बोल्दै उनले आयोगहरूमा पदाधिकारी नियुक्ति गर्ने प्रक्रिया अघि बढेपनि राजनीतिक दलहरूकै कारण ढिलाइ भइरहेको बताए।
उनले भने, ‘नेकपा एमालेले एकल सरकार बनाएर ऐतिहासिक कामहरू गरिसकेको छ। ती ऐतिहासिक कामहरूबाट ग्रसित अस्तित्व सङ्कटमा परेको महसुस गर्दै एमालेलाई त्यस बेला सरबारबाट विस्थापित गरिएको थियो। तर आज हामी शान्ति स्थापनाको अन्तिमतिर सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन जस्ता आयोगहरूमा पदाधिकारी नियुक्ति गरेर काम अगाडि बढाउने प्रक्रियामा छौँ। यसमा ढिलाइ भनेको द्धन्द्धपीडितहरुको कारणले होइन। राजनीतिक कारणले नै ढिलाइ भएको छ। अब ढिलाइ नगर्ने प्रयास जारी राखेका छौँ। पीडितहरूको पीडा हामीले बुझेका छौँ। जेल–नेल भोगेर आएकाले पीडा कस्तो हुन्छ हामीलाई थाहा छ।’
साथै उनले शान्ति प्रक्रियालाई अन्तिम रूप दिँदा द्धन्द्धपीडितहरु सबैलाई न्याय दिने अहिलेको आयोगहरूको उद्देश्य रहेको बताए। उनले आयोगमार्फत काम गरेर पीडितहरूलाई न्याय दिएर सङ्क्रमणकालीन न्याय दिनका लागि आयोगहरूलाई सक्रिय बनाइने र सबै पीडितहरूलाई न्याय दिइने बताए।