शिक्षकहरूले १६ दिनदेखि काठमाडौँ केन्द्रित सडक आन्दोलनलाई जारी राखेका छन्। नेपाल शिक्षक महासङ्घको नेतृत्वमा जारी आन्दोलन थप आक्रमक हुँदै गइरहेको छ।
जसको प्रभाव उपत्यकासहित देशभरका सामुदायिक विद्यालयमा परेको छ। नयाँ शैक्षिक सत्रको सुरु भएपनि भर्ना कार्यक्रम सुरु हुन सकेको छैन। काठमाडौँ उपत्यकाको सवारी आगमनमा समस्या भइरहेको छ।
१६ दिनदेखि शिक्षकहरूको राजधानी केन्द्रित सडक आन्दोलन बिहीबार पनि जारी राखेका छन्। बिहीबार नेपाल शिक्षक महासङ्घको नेतृत्वमा शिक्षकहरूले माइतीघरबाट प्रदर्शनसहित बानेश्वर पुगेर धर्ना दिएका छन्।
मङ्गलवार बसेको मन्त्रिपरिषद्को बैठकले शिक्षकहरूको माग सम्बोधन गर्न वैशाख १२ गतेलाई संसद् बैठक आव्हान गरेपनि शिक्षकहरूले आन्दोलनलाई थप चर्काएका हुन्।
मन्त्रिपरिषद् बैठकले विद्यालय शिक्षा विधेयक छिटो पारित गर्ने समेतका प्रयोजनका लागि सङ्घीय संसद्को अधिवेशन वैशाख १२ गते बोलाउन सिफारिस गर्ने निर्णय गरेको थियो।
शिक्षकहरूले विद्यालय शिक्षा ऐन जारी नगरेसम्म आन्दोलन जारी रहने बताउँदै आएका छन्।