नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सबै नेता उस्तै भन्नु भाष्य गलत भएको बताएका छन्।
शनिवार वर्तमान परिवेशमा कुरा गर्दा उनले भष्ट्रचारका विरुद्ध अभियान चलाउने सरकार र भष्ट्रचारीलाई  बचाउनका लागि सम्पूर्ण चिज गर्ने सरकार उस्तै भन्नु गलत र अवैज्ञानिक रहेको बताएका हुन्। 
‘जसरी सबै नेता उस्तै भन्ने छ त्यो गलत छ भन्ने मेरो भनाई छ। मेरो त गहिरो आरोप छ। मान्छेहरूले यस्तो किन भन्छन्,’ उनले भने। 
उनले आफू पहिलो पटक प्रधानमन्त्री हुँदा भौतिक पूर्वाधारको क्षेत्रमा मध्यपहाडी लोकमार्ग र उत्तर दक्षिण करिडोरको प्रस्ताव ल्याएको भन्दै दोस्रो पटकमा लोडसेडिङको अन्त्यदेखि संविधान कार्यान्वयनको ऐतिहासिक प्रक्रियाको नेतृत्व गरेको बताए। 
सबै उस्तै भन्नु गलत भन्दै भने ‘म सुशासन, सामाजिक न्याय र समृद्धि भनेर भष्ट्रचारका विरुद्ध यत्रो अभियान चलाउने पनि उस्तै। भष्ट्रचारीलाई बचाउनको लागि सम्पूर्ण चिज गर्ने पनि उस्तै भन्ने भाष्य जो बनाइएको छ। मान्छेले भन्ने गरेका छन् नेतातन्त्र, तीन जना नेता भन्ने गरेका छन् यो नै वैज्ञानिक छैन। कुन नेता कति राम्रो कति नराम्रो हरेकको अलग अलग छानबिन हुनुपर्‍यो। गम्भीर नागरिक, बुद्धिजीवीहरूले सबैको गुण दोषको आधारमा गर्नुपर्ने ठाउँमा सबैलाई एउटै डालोमा हाल्नु अवैज्ञानिक छ।’ 
उनले ऐतिहासिक रेकर्ड बनाउने सरकार र रेकर्ड भत्काउने सरकार उस्तै नहुने बताए।