नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कांग्रेस सत्तामा भएपनि सरकारमा नभएको बताएका छन्।
शनिवार बिपी स्मृति सामुदायिक सहकारी अस्पतालको साधारण सभालाई सम्बोधन गर्दै कोइरालाले सरकारले जनताको चाहना बुझ्न नसकेको र असल सुशासन दिन चुकिरहेकाले एमाले भोलिको प्रतिस्पर्धी पार्टी भएकाले खबरदारी गर्न नछाड्ने बताएका हुन्।
उनले भने,‘राजनीतिमा धेरै कुरा हुन्छ। हालको सरकारका सवालमा पनि धेरै कुराहरू छन्। अहिलेको सरकार नेपाली काँग्रेस सम्मिलित सरकार हो र यसमा हामी पनि छौँ। तर मैँले एउटा कुरा भन्दै आइरहेको छु–हामी सत्तामा छौँ तर सरकारमा छैनौँ किनभने हाम्रो प्रतिस्पर्धी जुनसुकै ठाउँमा एमाले हुन्छ। हामी अहिले एमालेसँग सहकार्य गरेर अगाडि बढिरहेका छौँ। यसलाई म खराब भन्दिन। तर सरकारले गलत वा कमजोरी गरिरहेको छ की भनेर खबरदारी गरिराख्नुपर्छ भन्ने हो। खबरदारी गरेनौंं भने कांग्रेसलाई अफ्ठ्यारोमा पर्न सक्छ। त्यसैले हामी सत्तामा छौँ तर सरकारमा छैनौँ। सरकारमा हुनेहरूले सहकार्य गरेरै जानुपर्ने आवश्यकता छ, अर्को उपाय छैन,’ उनले अगाडि भने,‘सरकारले संविधान पुनरावलोकन, संशोधन गर्ने कुरा गरेको छ। त्यसैले यसमा ढिला गर्न मिल्दैन। जति ढिलाइ हुन्छ, त्यति सडक आक्रोशित हुन्छ। सुशासन दिलाउन सकिएको छैन, दण्डहीनता बढेको बढ्यै छ। यसलाई कन्ट्रोल गर्न जरुरी छ।’
साथै उनले संविधान संशोधन गर्ने भन्ने कुरा सेलाएको बताए। कोइरालाले अहिले सडकमा उठिरहेका धेरै माग संविधान संशोधनबाट पुरा गर्न सकिने बताए।