प्रधानमन्त्री केपी शर्मा ओलीले निजी क्षेत्र देश विकासका लागि कम्मर कसेर लागेको बताएका छन्। नेपाल उद्योग वाणिज्य महासङ्घको ५९ औँ वार्षिक साधारण सभा एवं उद्घाटन समारोहमा बोल्दै उनले देशको अर्थतन्त्रलाई अगाडि बढाउन निजी क्षेत्र र सरकारबीच सहकार्य आवश्यक रहेको बताएका हुन्।
उनले भने,‘निजी क्षेत्र देश विकासका लागि कम्मर कसेर लागेको छ। आत्मविश्वासका साथ लागेको छ। देशको अर्थतन्त्रलाई अगाडि बढाउन तीव्र गतिमा अगाडि बढ्नुपर्ने छ। यसमा निजी क्षेत्र र सरकारको सहकार्यको आवश्यकता छ। सहकार्य गरेर नै उपलब्धि हासिल गर्न सक्छौँ, देश विकास गर्न सक्छौँ। स्थिरता, स्थायित्व, सुशासन र विकासका लागि बनेको अहिलेको सरकारको मुख्य एजेण्डा हो। अस्थिरताको अन्त्य, गतिशील स्थिरता, गतिशील स्थायित्व, सरकारको विश्वसनीयता र नीतिहरू छिनछिनमा बद्लिने, व्यवसायीक क्षेत्रमा नकारात्मक असर पार्ने, उत्तरदायित्व नलिने, एउटा सरकारका ठाउँमा अर्को तुरुन्तै बद्लिने र अघिल्लो सरकारले ल्याएका राम्रा कुराहरू पनि उसले उच्चारण पनि गर्न हुँदैन भन्ने मानसिकता राख्ने, नीतिगत अस्थितरता जस्ता कुराहरूको अन्त्य गर्नका लागि, सरकारको स्थिरता एवं स्थायित्वको लागि, नीतिगत स्थिरता र स्थायित्वको जस्ता कुराहरूका साथ अगाडि बढ्नका निम्ति नै सरकार बनेको हो।’
साथै उनले अहिलेको देशमा भ्रष्टाचार न्यूनीकरण र अन्त्य गर्न समेत यो सरकार प्रतिबद्ध रहेको बताए। उनले जनतालाई छिटो भन्दा छिटो सेवा प्रवाह गर्न सरकार तत्पर भएको बताए।
यसैगरी, परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले अर्थतन्त्रलाई चलायमान कसरी बनाउने भन्ने कुरामा अहिलेको सरकार गम्भीरतापूर्वक काम गरिरहेको बताएकी छन्। नेपाल उद्योग वाणिज्य महासङ्घको ५९ औँ वार्षिक साधारण सभा एवं उद्घाटन समारोहमा बोल्दै उनले यस्तो बताएकी हुन्।
उनले भनिन्, ‘अर्थतन्त्रलाई चलायमान कसरी बनाउने भन्ने कुरामा अहिलेको सरकार गम्भीरतापूर्वक काम गरिरहेको छ। राजश्व अहिले बढेको अवस्था छ, हाम्रो टेक्सबेस पनि बढाएर लगेका छौँ। विदेशबाट आउने अनुदान जुन थियो त्यो अहिले सङ्कुचित भएको छ। यो अझै पनि घट्ने सम्भावना छ। ’