त्रिभुवन विश्वविद्यालय अन्तर्गतको रामस्वरुप रामसागर बहुमुखी क्याम्पसका प्रमुख प्राडा वसन्त कुमार कर्णले आफूमाथि चैत २१ गते भएको ‘कालो मोसो प्रकरण’लाई अतिरञ्जित गरिएको भन्दै घटनाको वास्तविकता सार्वजनिक गरेका छन्।
जनकपुरधाममा बिहीबार पत्रकार सम्मेलनमार्फत क्याम्पस प्रमुख कर्णले घटनाको पृष्ठभूमि, योजनाबद्ध षड्यन्त्र र आन्तरिक शैक्षिक माफियाहरूको भूमिकाबारे १२ बुँदे विवरण सार्वजनिक गरेका हुन्।
कर्णले सो दिन बेलुका ४ बजेको समयमा विज्ञान भवनबाट मोटरसाइकलमा बाहिर निस्कने क्रममा आफूलाई लुगामा मसि छर्किएको सामान्य घटनालाई ‘कालो मोसो दलियो’ भनेर अनावश्यक रूपमा प्रचार गरिएको दाबी गरेका छन्। उनले यो प्रकरण योजनाबद्ध रूपमा आफ्नो चरित्र हत्या गर्ने र मानसिक दबाब सिर्जना गरी राजीनामा दिन बाध्य पार्ने षड्यन्त्र रहेको बताए।
कर्णले भने, ‘त्रिभुवन विश्वविद्यालयको इतिहासमै पहिलो पटक खुल्ला प्रतिस्पर्धाबाट योग्यता आधारित नियुक्ति पाएको म एक जना अल्पसङ्ख्यक समुदायबाट आएको प्रमुख हुँ। मलाई असफल साबित गर्न विगतदेखि नै विभिन्न हतकण्डा अपनाइँदै आएको छ।’
उनले क्याम्पसमा व्यापक परीक्षा सुधार तथा अनियमितता नियन्त्रणका लागि उठाइएका कदमहरू, सबै कक्षा र प्रशासनिक कोठामा सिसिटिभी जडानले आन्तरिक शैक्षिक माफियालाई असहज बनाएको बताए। सँगै, निजी शिक्षण संस्थाहरूलाई केन्द्र बनाएर परीक्षा केन्द्र सार्ने प्रयासलाई रोक्दा पनि धेरैको स्वार्थमा चोट पुगेको उनले जनाए।
‘परीक्षा प्रणाली मर्यादित बनाइँदै जाँदा विद्यार्थीहरू अध्ययनमा केन्द्रित भएका छन्। तर, केही शिक्षकहरू भने निजी शिक्षण संस्थालाई प्राथमिकता दिँदै क्याम्पसको पठनपाठन बिथोल्ने प्रयत्नमा लागेका छन्,’ उनले भने।
कर्णले छात्र सङ्घ चुनावको टिकट नपाएका केही असन्तुष्ट विद्यार्थी नेताहरू र उमेरहद कटेका नेताहरूको उक्साहटमा सात वटै विद्यार्थी सङ्गठनहरूले तालाबन्दी गरिरहेको र त्यसकै आडमा शैक्षिक वातावरण बिथोल्ने र अव्यवस्था सिर्जना गर्न खोजिएको आरोपसमेत लगाए।
घटनाका योजनाकार क्याम्पसकै सहायक लेखापाल सञ्जय कुमार दास रहेको बताउँदै कर्णले लेखापाल दासले भ्रष्टाचारबाट आर्जन गरेको सम्पत्तिको संरक्षण गर्न र आफू विरुद्धको अभियानलाई अगाडि बढाउन बाहिरी तत्त्व र केही विद्यार्थीहरूलाई समेत प्रयोग गरेको आरोप लगाए। ‘यी सबै प्रयासहरू मलाई मानसिक तनावमा पारेर राजीनामा गराउने योजनाको हिस्सा हुन्,’ कर्णले भने।
उनले घटनामा संलग्नहरूलाई कानुनी दायरामा ल्याउन सम्बन्धित निकायसँग आग्रह गर्दै क्याम्पसको शैक्षिक मर्यादा र सुधार प्रयासलाई कुनै हालतमा कमजोर नपारिने प्रतिबद्धता जनाए। उनले यस्ता घटनाबाट नडराई अझ दृढताका साथ सुधारको यात्रामा अघि बढ्ने बताए।