मोरङको ग्रामथान गाउँपालिका–४ चपरमाडीस्थित लोहन्द्रा खोलामा नुहाउन गएकी एक जना युवती मृत फेला परेकी छन्। 

प्रहरीका अनुसार खोलामा डुबेर मृत्यु भएको अवस्थामा ग्रामथान–६ की २६ वर्षीय पूजा माझीको शव फेला परेको हो। नुहाउन खोलामा गएकी उनलाई आइतबार राति १० बजेतिर डुबेर मृत्यु भएको अवस्थामा फेला पारिएको प्रहरीले जनाएको छ।  

मोरङ प्रहरी प्रवक्ता डीएसपी कोपिला चुँडालले कानुनी प्रक्रिया पूरा गरी खोलाबाट निकालेर शवलाई पोस्टमार्टमका लागि विराटनगरको कोशी अस्पताल पठाइएको जानकारी दिइन्। अविवाहित रहेकी पूजाको मृत्युको कारण खुल्न सकेको छैन। 

नुहाउने क्रममा कठ्यांग्रिएर उनको मृत्यु भएको हो कि घटनाको अन्य कुनै कारण छ भनेर पत्ता लगाउन अनुसन्धान तीव्र पारिएको चुँडालले बताइन्। मृत फेला परेकी पूजा करिब १०–१२ वर्षदेखि छारेरोग (मिर्गी) को बिरामी रहेको जानकारी परिवारका सदस्यले प्रहरीलाई दिएका छन्। 

इलाका प्रहरी कार्यालय बेलबारीका इन्स्पेक्टर राजीव गिरी नेतृत्वको टोलीले घटनाको थप अनुसन्धान गरिरहेको छ।