विराटनगर । नेपाल कम्युनिस्ट पार्टी इलामले आगामी निर्वाचनका लागि उम्मेदवारहरूको नाम सिफारिस गरेको छ। 

पार्टीको जिल्ला कमिटीले प्रतिनिधि सभाका दुवै निर्वाचन क्षेत्रका लागि प्रत्यक्ष, समानुपातिक र राष्ट्रिय सभातर्फका उम्मेदवारहरूको नाम टुङ्गो लगाएर केन्द्रमा पठाएको हो। 

पूर्वप्रधानमन्त्री एवं पार्टीका नेता झलनाथ खनालको नाम प्रत्यक्ष र समानुपातिक दुवैतर्फ समावेश गरिएको छ। खनाललाई निर्वाचन क्षेत्र नम्बर १ बाट प्रत्यक्षतर्फ सिफारिस गरिएको छ भने समानुपातिकतर्फ खस–आर्य क्लस्टरमा पनि उनको नाम पठाइएको छ। नेकपा की नेतृ शान्ता बस्नेतका अनुसार नेता खनालले आफू प्रत्यक्षमा नउठ्ने बताउँदै आए तापनि राष्ट्रिय स्तरको नेता र पूर्वप्रधानमन्त्री भएको हुनाले पार्टीले दुवै तर्फ उहाँको नाम सिफारिस गरेको हो। 

निर्वाचन क्षेत्र नम्बर १ बाट प्रत्यक्षतर्फ खनालसँगै अन्य चार जनाको नाम सिफारिस भएको छ। जसमा प्रदेश सभाका सासद खिनु लङवा लिम्बु, सूर्योदय नगरपालिकाका मेयर रणबहादुर राईको समेत नाम सिफारीस गरीएको छ।

यस्तै, तेज बहादुर राई ‘विजय’ र विपिन पोख्रेल नाम समेत पठाइएको हो। सूर्योदय नगरपालिकाका मेयर रणबहादुर राईको एकल नाम सिफारीस गर्ने तयारी भएपनि सम्मानका लागि झलनाथको नाम पठाउ भनेपछि अन्य नेताको नाम पठाइएको नेकपाका एक नेताले बताए। 

त्यस्तै, निर्वाचन क्षेत्र नम्बर २ का लागि ओमबहादुर गुरुङ, शान्ता बस्नेत, छविलाल आचार्य, नयन राई र दीकेन्द्र ढकालको नाम सिफारिस गरिएको छ।

समानुपातिकतर्फ विभिन्न क्लस्टरबाट झलनाथ खनाल, हर्क लावती ’कान्छा’, सावित्रा गर्तौला, लालबहादुर सुब्बा र लक्ष्मण घतानीको नाम सिफारिस गरिएको छ। राष्ट्रिय सभाका लागि भने दलित कोटाबाट चित्रकला बराइली र दीपक सिन्चुरीको नाम सिफारिस भएको छ। त्यस्तै, सावित्रा गर्तौलाको नाम समानुपातिक र राष्ट्रिय सभा दुवैका लागि सिफारिस गरिएको छ।