विराटनगर। नेपाली कम्युनिस्ट पार्टी मोरङले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि जिल्लाका ६ वटै निर्वाचन क्षेत्रको प्रत्यक्ष र समानुपातिकतर्फका उम्मेदवारहरूको नामावलीलाई अन्तिम रुप दिई केन्द्रीय कार्यालयमा सिफारिस गरेको छ।
जिल्ला कार्यदलले यसअघि सार्वजनिक भएको ८० जनाको प्रारम्भिक सूची केवल सुझाव मात्र रहेको प्रस्ट पार्दै अहिले पठाइएको नामावली नै जिल्लाको आधिकारिक र अन्तिम सिफारिस भएको जनाएको छ।
जिल्लाका २ निर्वाचन क्षेत्रबाट सर्वसम्मत भएर आएको सुझाव अनुसार एकएक जनाको नाम सिफारिस गरिएको छ भने अन्य क्षेत्रबाट केन्द्रको परिपत्र अनुसार पाँच-पाँच जनाको नाम पठाइएको छ। क्षेत्र नम्बर ४ बाट अमनलाल मोदी र ५ बाट शिवकुमार मण्डलको एकल सिफारिस भएको छ। अन्य क्षेत्रबाट भने एक दर्जनसम्मको नाम आएकोमा त्यसलाई कटौती गर्दै पाँच-पाँच जनाको नाम पठाइएको छ।
जिल्लाले निर्वाचन क्षेत्र नम्बर १ बाट प्रत्यक्षतर्फ कुलप्रसाद साम्बा लिम्बू (कुशल), विषेन्द्र चेम्जोङ र उपेन्द्र घिमिरेलाई सिफारिस गरेको छ। सोही क्षेत्रबाट महिला उम्मेदवारका रूपमा कल्पना राई र नवयुवाका तर्फबाट कोसिस सुवेदीको नाम पठाइएको छ।
क्षेत्र नम्बर २ मा प्रकाश पौडेल, चन्द्रवीर राई, जुब्बा सोरेन र प्रेम नारायण थापाका साथै नवयुवा क्लस्टरबाट निर्मल भण्डारी सिफारिसमा परेका छन्। निर्वाचन क्षेत्र नम्बर ३ बाट सावित्री कुमार काफ्ले, डा. देवमान साम्बा हाम्फे, लालबहादुर सुस्लिङ मगर, चन्द्रकला सुब्बा र योगेन्द्र लिम्बूको नाम सिफारिस गरिएको छ भने चन्द्रबहादुर गुरुङलाई विशेष सम्भावित उम्मेदवारका रूपमा राखिएको छ।
त्यसैगरी, क्षेत्र नम्बर ६ मा उपेन्द्र राय, दीपक कुमार ढकाल, सोनेलाल राजवंशी र वसिम आलम उम्मेदवारका लागि सिफारिस भएका छन् भने महिलातर्फ सन्जुकुमारी शाहको नाम समावेश छ। सो क्षेत्रबाट प्रदेश सांसद जीवन आचार्यको पनि नाम आएकोमा उनैले नाम हटाउन भनेका थिए।
जिल्लाले समानुपातिक तर्फ ३० जनाको नाम केन्द्रमा पठाएको छ। समानुपातिक निर्वाचन प्रणालीका लागि पार्टीले विभिन्न समावेशी क्लस्टर अनुसार नामावली तयार पारेको छ।
खस आर्य पुरुषतर्फ मेदनी सेडाई र राधाकृष्ण पोखरेललाई सिफारिस गरिएको छ भने सोही समूहको महिलातर्फ सुशिला घिमिरे, लक्ष्मी न्यौपाने, सीता कडरीया, अन्जना पोखरेल र नानीमैया कार्की चौलागाईको नाम समावेश छ। आदिवासी जनजातितर्फ पुरुषमा प्रेम मिभक, बल बहादुर धिसिङ र मानप्रसाद लिम्बू सिफारिस भएका छन् भने महिलामा ममता राजवंशी, लक्ष्मी राजवंशी र कुमारी राई (कन्चन कुलुङ) को नाम रहेको छ।
थारु समुदायबाट पुरुषतर्फ पक्कुलाल चौधरी र महिलातर्फ सुनिता चौधरीको नाम सिफारिसमा परेको छ। मधेशी क्लस्टरबाट भोगेन्द्र यादवलाई सिफारिस गरिएको छ।
मुस्लिम समुदायबाट पुरुषतर्फ मन्सुर आलम र नउसाद परवेज तथा महिलातर्फ तवसुम सिद्धिकीको नाम पठाइएको छ। दलित क्लस्टरमा पुरुषतर्फ खेमराज नेपाली, मधेशी दलितबाट अर्जुन ऋषिदेव र युवा कपिल सुनुवार सिफारिस भएका छन् भने महिलातर्फ दयावती सरदारको नाम समावेश छ।
युवा तथा नवयुवा क्लस्टरलाई विशेष ध्यान दिँदै ऋषि राई, अभिमन्यु यादव र दिपेश परियारलाई पुरुषतर्फ तथा स्मृति तिम्सिना र अंकिता आलेमगरलाई महिलातर्फ सिफारिस गरिएको छ। अल्पसंख्यक समुदायबाट सुर्य मुडियारी र युवा कोटाबाट मो. आलम परवेजको नाम पनि अन्तिम सूचीमा समेटिएको छ।
जिल्लाले तयार पारेको यो आधिकारिक सूचीमाथि अब पार्टीको केन्द्रीय सचिवालयले आवश्यक छलफल गरी उम्मेदवारीको अन्तिम निर्णय गर्नेछ।




















