मोरङको पथरीशनिश्चरेबाट भन्सार छली गरेर भारतदेखि भित्र्याइएका कपडा बरामद गरेको छ। पूर्व–पश्चिम राजमार्ग हुँदै झापाबाट पथरीतर्फ आउँदै गरेको म्याजिक भ्यान खानतलासीका क्रममा अवैध कपडा फेला परेको हो।

इलाका प्रहरी कार्यालय पथरीका अनुसार बिहीबार साँझ करिब ६ बजेतिर पथरीशनिश्चरे नगरपालिका–१ स्थित पथरी बजारमा चेकजाँचका क्रममा प्रदेश १–०२–००१ ज ४६९८ नम्बरको म्याजिक भ्यान रोकेर खानतलासी गरिएको थियो। खानतलासीका क्रममा भ्यानभित्र विभिन्न प्रकारका कपडा लुकाएर ल्याइएको अवस्थामा फेला पारिएको प्रहरीले जनाएको छ। 

प्रहरीले भ्यानबाट ५७ थान ज्याकेट, ३ सय ९३ थान स्वीटर, १ सय ८२ थान ट्राउजर, ४ थान जिन्स पाइन्ट, ८ थान लङकोट र ९ थान कोट बरामद गरेको छ। बरामद कपडाको बजार मूल्य ४ लाख ७० हजार ६ सय रुपैयाँ बराबर रहेको प्रहरीको अनुमान छ।

चेकजाँचका क्रममा चालकले कपडाको कुनै पनि बिल, भन्सार कागजात वा वैधानिक प्रमाण पेस गर्न नसकेपछि कपडा भन्सार छली गरी भारतबाट ल्याइएको पत्ता लागेको हो। त्यसपछि कपडासहित भ्यान र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। 

प्रहरीले भ्यान चालक झापाको मेचीनगर नगरपालिका–१३ का ४३ वर्षीय कृष्णबहादुर बस्नेतलाई पक्राउ गरेको हो। बरामद कपडा, म्याजिक भ्यान र चालकलाई इलाका प्रहरी कार्यालय पथरीमा थप अनुसन्धान अघि बढाइएको जानकारी प्रहरीले दिएको छ।