निजी दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले कोशी प्रदेशमा ३० वटा नयाँ टावरहरू थपेको छ। नयाँ पुस्ताको फोरजी सेवाको गुणस्तर सुधार तथा सेवा विस्तार योजना अन्तर्गत यी नयाँ टावरहरू जडान गरी सञ्चालनमा ल्याएको कम्पनीले जनाएको छ।
नयाँ टावरहरू सञ्चालनमा आएसँगै ती स्थानका ग्राहकहरूले अब एनसेलको फोरजी नेटवर्कमार्फत गुणस्तरीय भ्वाइस र उच्च गतिको डेटा सेवालगायत भोल्टे सेवाको फाइदा सजिलै लिन सक्ने भएका छन् । आफ्नो सेवाको निरन्तर गुणस्तर सुधार र विस्तार अभियान अन्तर्गत एनसेलले कोशी, मधेश, लुम्बिनी, बागमती प्रदेशलगायत प्रदेशका स्थानीय तहमा आफ्नो फोरजी सेवाका थप टावरहरूका जडान गरेको हो।
जिल्लागत हिसाबले कोशी प्रदेशका झापा, मोरङ, सुनसरी र इलाममा नयाँ टावर जडान गरिएको एनसेलले जनाएको छ। यी टावरहरू सञ्चालनमा आए पश्चात् झापाको गौरादह, अर्जुनधारा, बाह्रदशी, मोरङको रङ्गेली, जहदा, पहरी, सुनसरीको पश्चिम कुसाहा, इनरुवा, बर्जू र इलामको चुलाचुली र देउमाईलगायत विभिन्न स्थानका ग्राहकहरू लाभान्वित भएका छन्।




















