टर्कीमा भएको विमान दुर्घटनामा लिबियाका सेना प्रमुख जनरल मोहम्मद अली अहमद अल–हद्दादको मृत्यु भएको छ।
लिबियाका प्रधानमन्त्रीले उक्त दुर्घटनामा जनरल अल–हद्दादसहित अन्य चार जनाको ज्यान गएको पुष्टि गरेका छन्।
जनरल अल–हद्दाद र अन्य अधिकारी टर्कीको राजधानी अंकाराबाट लिबियाको त्रिपोलीतर्फ उडेको फाल्कन–५० विमानमा सवार थिए। टर्कीका आन्तरिक मन्त्री अली येरलिकायाले सामाजिक सञ्जाल एक्समार्फत जानकारी दिँदै मंगलबार साँझ स्थानीय समय अनुसार ८ः५२ बजे विमानसँग सम्पर्क टुटेको बताएका छन्। उक्त समय विमान अंकारा विमानस्थलबाट उडेको करिब ४२ मिनेटपछि थियो।
त्रिपोलीतर्फ गइरहेको उक्त जेट विमानले सम्पर्क टुट्नुअघि आपतकालीन अवतरणको अनुमति मागेको थियो। पछि अंकाराको दक्षिण–पश्चिम क्षेत्रमा विमानको भग्नावशेष फेला परेको टर्कीका अधिकारीहरूले बताएका छन्। दुर्घटनाको कारणबारे अनुसन्धान शुरू गरिएको जनाइएको छ।
आन्तरिक मन्त्री येरलिकायाका अनुसार हायमाना जिल्लाको केसिक्कावाक गाउँ नजिक विमानको भग्नावशेष फेला परेको हो। उनले थप विवरण पछि सार्वजनिक गरिने बताएका छन्।
लिबियामा अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त राष्ट्रिय एकता सरकार (जीएनयू) का प्रधानमन्त्री अब्दुल हमिद दबैबाहले विमानमा सवार जनरल अल–हद्दाद र अन्य वरिष्ठ सैन्य अधिकारीहरूको मृत्यु भएको खबर प्राप्त भएको बताएका छन्।
प्रधानमन्त्री दबैबाहले यस घटनालाई राष्ट्रका लागि ‘ठूलो क्षति’ भन्दै देशले इमान्दारी र समर्पणका साथ सेवा गरेका व्यक्तिहरू गुमाएको प्रतिक्रिया दिएका छन्।
जनरल अल–हद्दाद र उनको टोली टर्की–लिबिया सैन्य तथा सुरक्षा सहकार्यलाई अझ सुदृढ बनाउने उद्देश्यले वार्ताका लागि टर्की पुगेका थिए।




















