सहरी विकासमन्त्री कुलमान घिसिङ र बन्चरेडाँडाका स्थानीयबीच काठमाडौं उपत्यकाको फोहोर फाल्न १५ दिनको मौखिक सहमति जुटेको छ। आज बन्चरेडाँडा ल्यान्डफिल साइटमा मन्त्री घिसिङले १५ दिनभित्र माग पूरा गर्ने कार्ययोजना ल्याउने प्रतिबद्धता जनाएपछि सहमति जुटेको हो।
धुनिवेशी नगरपालिकाका मेयर बालकृष्ण आचार्यका अनुसार, मन्त्रीसँग मौखिक सहमति जुटेको छ। घिसिङआइतबार बिहान बन्चरेडाँडा ल्यान्डफिल साइट पुगेका थिए।
“महानगरसँग केही पनि भएको छैन। सहरी विकास मन्त्रालयसँग हस्ताक्षर भएको छैन। मन्त्रीको बोलीलाई जनताले सहमतिको रूपमा लिएका छन्। स्थानीयले एक साता भनेका थिए। तर, मन्त्रीले नै १५ दिनभित्र खास कार्ययोजना ल्याउने प्रतिबद्धता जनाएपछि नयाँ मन्त्री भनेर छोडेका छन्,” उनले भने।
चार दिनदेखि आन्दोलनरत पीडित स्थानीयले अनिश्चितकालका लागि फोहोर फाल्न रोक लगाएका थिए। त्यसपछि सूचना जारी गर्दै घरबाट फोहोर ननिकाल्न अनुरोध गरिएको थियो।
यसअघि, वार्ताका लागि काठमाडौं पुगेका प्रतिनिधिसँग भएको छलफल निष्कर्षविहीन बनेको थियो।




















