अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीले गत सोमबार र मंगलबार जेनजीले गरेको आन्दोलनमा षड्यन्त्र भएको बताएकी छन्।
आइतबार काठमाडौँमा पदभार सम्हाल्दै उनले सरकारका सम्पूर्ण संरचना र कागजपत्र जलाइएको भन्दै यो षड्यन्त्रपूर्वक भएको बताएकी हुन्। उनले आन्दोलनमा घुसपैठ भएको संकेत गर्दै कडा छानबिन हुनुपर्ने बताएकी हुन्।
‘हामी शून्यमा पुगेका छौँ। पुराना फाइलहरू सबै नष्ट भएका छन् अत्यावश्यक संरचना सबै नष्ट भएका छन्। अत्यन्तै महत्त्वपूर्ण सामान नष्ट भएका छन्’, उनले भनिन्, ‘मलाई यो देखेर लाज पनि लागेको छ। नेपाली नै भएर यो काम गरेको भए यो कसरी गर्न सक्छ ? यो घटना देशमा पहिलो चोटी भएको हो। अनुहार देखाउन नहुने गरी भएका छन्, यो एउटा षड्यन्त्र हो, यसको अनुसन्धान हुन बाँकी छ।’
उनले नेपाली भएर राज्यको लागि अति आवश्यक कागजात कसरी नोक्सान गरे होलान् भनेर प्रश्न गरेकी छन्। राज्यको लागि अति आवश्यक सरकारी कार्यालयलाई छानीछानी आक्रमण गरेको भन्दै यो षडयन्त्र भएको उनले बताइन्।