अस्ट्रेलियामा जारी टप एन्ड टी-२० सिरिज क्रिकेट प्रतियोगितामा नेपाली टोलीले लगातार दोस्रो जित हासिल गरेको छ। नेपाली टोलीले बुधबार सम्पन्न आफ्नो पाँचौं खेलमा मेलबर्न रेनगेड्स एकेडेमीलाई ३३ रनले हरायो।

नेपालले दिएको लक्ष्य पछ्याएको मेलबर्न २० ओभरमा १०६ रन खेल्दै अलआउट भयो। यससँगै नेपालले जारी प्रतियोगितामा लगातार दोस्रो जित निकालेको छ।

यो जितसँगै नेपालले ५ खेलबाट ४ अंक बनाएको छ। नेपालले यसअघिको खेलमा हाबार्ट हेरिकेन्सलाई ६६ रनले हराएको थियो।

मेलबर्नका अर्जुन नायरले सर्वाधिक २६ रन जोडे। २२ बल खेलेका उनले २ चौका र १ छक्का हाने। जय लेमिरे १८ र ह्यारी डिक्सनले १६ रन मात्रै बनाउन सके।

नेपालका लागि सोमपाल कामी चम्किए। उनले सर्वाधिक ५ विकेट झारे। ४ ओभर बलिङ गरेका उनले १७ रन दिएर मेलबर्नलाई दबाबमा राखे। कुशल भुर्तेलले २ विकेट लिए। शहाब आलम र रुपेश सिंहले १र१ विकेट लिए।

यसअघि डार्विनको पार्मर्स्टस्थित काजालिस एरेनामा जारी खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर एक ३९ रनको योगफल बनाएको थियो। नेपालका लागि कुशल मल्लले सर्वाधिक २९ रनको योगदान दिए। उनले २२ बलमा एक चौका र एक छक्कासहित सर्वाधिक २९ रन बनाए।

त्यसैगरी दीपेन्द्रसिंह ऐरीले २८ बलमा २७ रन बनाउँदा लोकेश बमले १६ बलमा २४ रन जोडे। भीम सार्कीले १७ तथा आरिफ शेख र रुपेश सिंहले समान १२-१२ रन बनाए।

बलिङतर्फ रेनेगेड्सका फर्गस ओनिल, लचलान बाङ्स, क्यालम स्टो र माइकल आर्चरले समान दुई-दुई विकेट लिए।