हालै सम्पन्न गैरआवासीय नेपाली सङ्घ (NRNA) राष्ट्रिय समन्वय परिषद्, जापानको निर्वाचनमा केन्द्रीय सदस्य २०२५–२०२७ का लागि बेलबारीका युवा समाजसेवी तथा व्यवसायी विपिन श्रेष्ठ मनोनीत भएका छन्।
मोरङ जिल्ला, बेलबारी नगरपालिका–२ घर भएका श्रेष्ठ करिब दुई साताअघि सम्पन्न निर्वाचनमा सुरुमा कान्तो क्षेत्रीय सचिव पदका उम्मेदवारका रूपमा प्रस्तुत भएका थिए। तर, विभिन्न कारण र सहमतिको वातावरणलाई प्राथमिकता दिँदै अन्ततः उनले केन्द्रीय सदस्यको जिम्मेवारी लिन सहमति जनाए। यसअघि सङ्घभित्रका विविध गतिविधिमा सक्रिय भूमिका निर्वाह गर्दै आएका श्रेष्ठ यस पटक केन्द्रीय तहमा पुग्न सफल भएका हुन्।
निर्वाचनपश्चात् श्रेष्ठले आफूलाई विश्वास, माया र समर्थन गर्ने सम्पूर्णप्रति हार्दिक धन्यवाद प्रकट गर्दै, पदाधिकारी, कार्यसमिति तथा सहयोगी सबैप्रति विशेष आभार व्यक्त गरे। उनले आफ्नो कार्यकालमा संस्थाको हित र प्रवासी नेपालीहरूको हकहितका लागि इमानदारीपूर्वक काम गर्ने प्रतिबद्धता जनाए।
श्रेष्ठका अनुसार NRNA जस्तो साझा मञ्चलाई अझ सबल, पारदर्शी र परिणाममुखी बनाउन आवश्यक नीति तथा कार्यक्रम कार्यान्वयनमा आफू सक्रिय रहने छन्। विशेषगरी जापानमा रहेका नेपालीहरूको सीप विकास, विद्यार्थी तथा श्रमिकका समस्या समाधान, आपत्कालीन सहयोग र नेपालप्रति योगदान पुर्याउने गतिविधिलाई प्राथमिकता दिने उनको भनाइ छ।
युवापुस्तामाझ लोकप्रिय रहेका श्रेष्ठ सामाजिक सेवा, उद्धार तथा समुदायलाई एकताबद्ध गर्ने कार्यमा लामो समयदेखि सक्रिय छन्। उनी जापानमा मात्र नभई नेपालकै विभिन्न सङ्घ–संस्थामा समेत निरन्तर योगदान दिँदै आएका छन्।