राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद रोशन कार्कीले उपसभामुखलाई अविश्वासको महाअभियोग लगाउन एमाले र नेपाली कांग्रेसले आफ्ना सांसदहरूलाई खाली कागजमा सही गराएको भन्दै आक्रोश पोखेकी छन्।
बुधवार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले आसेपासे नियुक्ति गर्न उपसभामुखलाई अविश्वासको महाअभियोग लगाउने प्रयास गरिएको बताएकी हुन्। उनले आक्रोश हुँदै भनिन्, ‘एमाले र नेपाली कांग्रेसले आफ्ना सांसदहरूलाई खाली कागजमा सही गराए छन्। सही गराउने कस्तो पार्टी ? सही गर्ने कस्ता माननीयहरू धिक्कार होस् ?’
उनले खाली कागजमा हस्ताक्षर गरी संवैधानिक परिषद्मा बहुमत पुर्याउन आसे पासे नियुक्तिको लागि नौटङ्की गरेको बताइन्। उनले भनिन्,‘हिजो दिनभरि नौटङ्की देखियो। एमाले र नेपाली कांग्रेसले आफ्ना माननीयहरूलाई खाली कागजमा सही गराएको भन्ने खबर सुनियो यो के को लागि भने भन्दा उपसभामुखलाई अविश्वासको महाअभियोग लगाउने रे संवैधानिक परिषद्मा बहुमत पुगेन उहाँहरूलाई बहुमत पुर्याउन आफ्ना आसे पासे नियुक्ति गर्नका लागि उपसभामुखलाई अविश्वासको महाअभियोग कुरा चल्यो।’
यस्तै कार्कीको अभिव्यक्तिमाथि एमालेका सांसद सूर्य थापाले आपत्ति जनाएका छन्। उनले कार्कीको अभिव्यक्ति लाञ्छनापूर्ण रहेको भन्दै रेकर्डबाट हटाउनु माग समेत गरे। ‘यो आरोपपूर्ण, लाञ्छनापूर्ण, गालीगलौजपूर्ण र अपमानपूर्ण यो ढङ्गको अभिव्यक्तिलाई त्यो कुर्सीबाट निषेधित गरिनुपर्छ,’ उनले भने, ‘माननीय सदस्यले कस्ता कागजमा सही गराएको भन्ने ढङ्गका जुन लाञ्छनापूर्ण अभिव्यक्ति दिनु भएको छ यो रेकर्डबाट हटाउनुपर्छ।’