नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले प्रादेशिक ललितकला प्रदर्शनी २०८१ मार्फत छानिएका कलाकृति समावेश गरेर राष्ट्रिय ललितकला प्रदर्शनी २०८२ गर्न लागेको छ।
सोमबार काठमाडौँमा पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतिष्ठानले राष्ट्रिय ललितकला प्रदर्शनी २०८२ गर्न लागेको जानकारी गराएको हो।
प्रतिष्ठानले दोस्रो पटक प्रादेशिक प्रदर्शनी हुँदै राष्ट्रिय ललितकला प्रदर्शनी गर्ने जानकारी समेटिएको विस्तृत विवरणसहितको सार्वजनिक सूचना २०८१ पुस ०७ गते जारी गर्दै देशभरका कलाकारलाई प्रदर्शनीमा सहभागिताका लागि आह्वान गरेको थियो।
प्रतिष्ठानले नेपाली चित्रकला, मूर्तिकला, लोककला, हस्तकला, वास्तुकला तथा अन्य सिर्जनात्मक बहुआयामिकलगायत विविध विधा, उपविधागत कलामा अनुसन्धान, सिर्जना र सम्मानका खातिर ललितकलाको संरक्षण, संवर्धन एवं सर्वाङ्गीण विकासार्थ विशेष रणनीतिक योजनासाथ सिर्जनात्मक क्रियाकलापहरू गर्दै गराउँदै आएको छ।
यसैअनुरूप प्रादेशिक ललितकला प्रदर्शनीमा सहभागी र अप्रतियोगी कलाकृतिसमेत समावेश गरी राष्ट्रिय ललितकला प्रदर्शनी २०८२ मा ५७१ कलाकारका ६०६ कलाकृति प्रदर्शनीमा राखिने छ।
जसअन्तर्गत कोशी प्रदेशबाट ८२ कलाकारका ८२, मधेस प्रदेशबाट ८८ कलाकारका ९८, बागमती प्रदेशबाट १६४ कलाकारका १८३, गण्डकी प्रदेशबाट ५३ कलाकारका ५५, लुम्बिनी प्रदेशबाट ६५ कलाकारका ६६, कर्णाली प्रदेशबाट ४० कलाकारका ४१, सुदूरपश्चिम प्रदेशबाट ३९ कलाकारका ३९ कलाकृति गरी ५३१ कलाकारका ५६४ कलाकृति प्रदर्शनीमा रहने छन्।
प्रदर्शनीमा अप्रतियोगीअन्तर्गत ४५ र आमन्त्रित ३३ गरी ७८ कलाकारका ७९ कलाकृति पनि समावेश हुनेछन्।
विधागत रूपमा समसामयिक चित्रकलाका २०१ कलाकारका २०८, परम्परागत चित्रकलाका ७२ कलाकारका ७३, समसामयिक र आधुनिक मूर्तिकलाका ५१ कलाकारका ५२, परम्परागत मूर्तिकलाका १६ कलाकारका १८, वास्तुकला तथा लोककलाका ८४ कलाकारका ८८ शिल्प हस्तकलाका ७४ कलाकारका ७९, बहुआयामिक तथा अन्य सिर्जनात्मक कलाअन्तर्गत छविकलाका ४५ कलाकारका ५९। प्रतिस्थापन कलाका ९ कलाकारका ९, कार्टुनका १३ कलाकारका १४, क्यारिकेचरका ३ कलाकारका ३, डिजिटलका १ कलाकारको १, भावभङ्गी कलाका २ कलाकारका २ कलाकृति प्रदर्शनीमा रहने छन्।
यस वर्ष ‘अरनिको ललितकला राष्ट्रिय प्रज्ञा सम्मान अग्रज कलाकारहरू डा. सीमा शर्मा शाह र मङ्गल लामालाई प्रदान गरिनेछ।
यस पुरस्कारको राशि सम्मानपत्र रहेको छ। सर्वोत्कृष्ट राष्ट्रिय ललितकला पुरस्कार विनम्र डङ्गोल-परम्परागत चित्रकलालाई प्रदान गरिने छ। पुरस्कारको राशि १ लाख र सम्मानपत्र रहेको छ।
राष्ट्रिय ललितकला पुरस्कार समसामयिक चित्रकलातर्फ कृष्ण लामा, समसामयिक आधुनिक मूर्तिकलातर्फ चन्द्रमणि मगर, परम्परागत चित्रकलातर्फ शङ्कर कुमार जोशी, परम्परागत मूर्तिकलातर्फ सुरेश लवट तुलाधर, शिल्प-हस्तकलातर्फ राजकुमार शिल्पकार, वास्तुकला तथा लोककलातर्फ ज्योतिकुमारी सापकोटा, बहुआयामिक तथा अन्य सिर्जनात्मक कलाअन्तर्गत फोटोग्राफीतर्फ सफल प्रकाश श्रेष्ठलाई प्रदान गरिनेछ। यस पुरस्कारको राशि ६० हजार रुपैयाँ र सम्मानपत्र रहेको छ।
राष्ट्रिय ललितकला नवप्रतिभा पुरस्कार भीमबहादुर विकलाई प्रदान गरिने छ। यस पुरस्कारको राशि ६० हजार रुपैयाँ र सम्मानपत्र रहेको छ।
प्रादेशिक ललितकला नवप्रतिभा पुरस्कार कोसीबाट भावना गुरुङ, मधेसबाट निरुपम जयसवाल, बाग्मतीबाट सुप्रिना घलान, गण्डकीबाट धावा दोर्जे गुरुङ, लुम्बिनीबाट रुकैया वानु, सुदूरपश्चिमबाट निशान्त सुनारलाई प्रदान गरिने छ। यस पुरस्कारको राशि ३० हजार रुपैयाँ र सम्मानपत्र रहेको छ।
राष्ट्रिय ललितकला लेखन पुरस्कार सरोज बज्राचार्य, राष्ट्रिय ललितकला पत्रकारिता पुरस्कार क्रमशः गोरखापत्र दैनिक र नेपाल टेलिभिजनका शिवा तामाङ र हेमन्त गौतमलाई प्रदान गरिने छ।
ललितकला लेखन पुरस्कारको राशि ६० हजार र सम्मानपत्र तथा ललितकला पत्रकारिता पुरस्कारको राशि ३० र ३० हजार र सम्मानपत्र रहेको छ। ललितकला प्रवर्द्धन सम्मान भने नेपाल हस्तकला महासङ्घ र प्रतिमा पाण्डेलाई प्रदान गरिने छ।
प्रादेशिक उत्कृष्ट ललितकला पुरस्कार क्रमशः कोसीबाट ङावाङ छिरी शेर्पा परम्परागत चित्रकला, मधेसबाट सोनाम सिंह भ्लोन हस्तकला, बागमतीबाट रचना शाक्य परम्परागत चित्रकला, गण्डकीबाट दलबहादुर गुरुङ समसामयिक चित्रकला, लुम्बिनीबाट लिलाधर केसी समसामयिक चित्रकला, कर्णालीबाट कुमारी सिता मल्ल समसामयिक चित्रकला, सुदूरपश्चिमबाट रमेश कठायत समसामयिक चित्रकलालाई प्रदान गरिने छ। यी सम्पूर्ण पुरस्कारको राशि ५० हजार र सम्मानपत्र रहेको छ।