राजसंस्था पुनस्र्थपानका लागि गठित नवराज सुवेदी नेतृत्वको संयुक्त  जनआन्दोलन समितिले जेठ १५ बाट अनिश्तकालिन आन्दोलनको घोषणा गरेको छ। बिहीबार पत्रकार सम्मेलन गर्दै समितिले आन्दोलनको घोषणा गरेको हो। 
तीन प्रमुख मागसहित समितीले आन्दोलन गर्ने भएको हो। परिवर्तनकारी र परम्परागत शक्तिबीच समाञ्जस्यता काय गर्दै राजसंस्था अटाउने गरी नयाँ समझदारी, सर्व धर्म समभावसहितको पूर्ण धार्मिक स्वतन्त्रता सहितको हिन्दु राष्ट्र र बलियो स्थानीय सरकारको मागसहित आन्दोलनको घोषणा भएको हो।
आन्दोलन घोषणा गर्दै सुवेदीले भनेका छन्,‘हाम्रो आन्दोलन शान्तिपूर्ण हुनेछ। भद्र अवज्ञा र सत्याग्रहसहितको आन्दोलन हुनेछ। राजा र जनताबीच षडयन्त्रपूर्वक टुटाइएको धागोलाई फेरि जोड्ने गरी आन्दोलन हुनेछ।’
समितिको आन्दोलन सरकारविरुद्ध नरहेको विज्ञप्ति मार्फत जनाइएको छ। जनतामा निहित सार्वभौम सत्ता र जनताको निर्णायकत्वलाई थप सुदृढ गर्नु आन्दोलनको मुख्य उद्देश्य रहेको समेत उल्लेख छ। परिवर्तनकारी शक्तिहरूले चाहेको खण्डमा संविधानको परिधिभित्रबाट आफूहरूको माग सम्बोधन गर्न सकिने समेत  विज्ञप्ति मार्फत सुवेदीले बताए।
आन्दोलनमा राप्रपा, राप्रपा नेपाल सहितका राजनीतिक दल र विभिन्न समूहहरूले समेत ऐक्यबद्धता जनाएका छन्।