स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले प्रयोगशाला हुने उपचारात्मक परीक्षणहरूमा देशलाई आत्मनिर्भर बनाउन जरुरी रहेको बताएका छन्।
राष्ट्रिय अत्यावश्यक निदानात्मक परीक्षण सूचीको अनावरण कार्यक्रममा बोल्दै उनले उपचारात्मक परीक्षणहरू देशभित्रै गर्ने स्थिति बन्न सक्यो भने कम झन्झटिलो हुने, खर्च पनि कम हुने र अस्पतालले दिने सेवा सुविधामा बढी सहजीकरण हुने स्थिति बन्ने बताएका हुन्।
उनले भने, ‘खासगरी नेपालमा प्रयोगशाला परीक्षण हुने उपचारात्मक परीक्षणहरूमा देशलाई आत्मनिर्भर बनाउन जरुरी छ। उपचारात्मक परीक्षणहरू देशभित्रै गर्ने स्थिति बन्न सक्यो भने कम झन्झटिलो हुने, खर्च पनि कम हुने र अस्पतालले दिने सेवा सुविधामा बढी सहजीकरण हुने स्थिति हुन्छ। यसरी पूर्ण क्षमतामा हामीले केन्द्रित भएर प्रयोगशालालाई प्रयोगमा ल्याउनुपर्छ।’
साथै उनले प्रदेशहरूमा नयाँ प्रयोगशालाहरू खुलेकाले त्यसमा क्षमता वृद्धि गर्न जरुरी रहेको बताए। उनले स्वास्थ्य क्षेत्रमा अझै थुप्रै कामहरू गर्न बाँकी नै रहेकाले आवश्यकताहरूलाई डब्लुएचओले समेत सहयोग पुर्‍याउने आशा व्यक्त गरे।
उनले भने, ‘प्रदेशहरूमा नयाँ प्रयोगशालाहरू खुलेका छन्। त्यसमा क्षमता वृद्धि गर्न जरुरी छ। अस्पतालमा रहेका प्रयोगशालाहरू व्यापक छन्। स्वास्थ्य क्षेत्रमा अझै थुप्रै कामहरू गर्न बाँकी नै छ। यो क्षेत्र पूर्ण छैन। यसलाई पूर्णता दिन अझै पनि डब्लुएचओमार्फत सहयोग हुनसक्छ भन्ने आशा लिएका छौँ। आवश्यकताहरू डब्लुएचओलाई पनि भन्नुपर्ने अवस्था छ।’