उद्योग, वाणिज्य तथा आपूर्तीमन्त्री दामोदर भण्डारीले नेपालभित्र उत्पादन भएको वस्तुको निर्यात बढाउनुपर्ने बताएका छन्।  
बिहीबार काठमाडौँमा आयोजित कार्यक्रममा उनले नेपालीहरूले अब आफ्ना वस्तुहरूलाई उत्पादन गरेर अन्तर्राष्ट्रिय बजारमा निर्यात गर्नुपर्ने भन्दै यसमा निजी क्षेत्र पनि उत्पादकत्व वृद्धिमा सहयोग पुर्‍याउनुपर्ने बताए। 
उनले भने, ‘नेपाली वस्तु र छिमेकी मुलुक मित्र राष्ट्रहरूबाट आएका वस्तुहरू समेतलाई राखेर झण्डै साता दिनको व्यापार मेलाको आयोजना भएको छ। मन्त्रालयको पनि सहभागिता छ। हामीले देशभित्र उत्पादित वस्तुहरूलाई संसारले देख्नेगरि, नेपालीहरूले पनि अब आफ्ना वस्तुहरूलाई उत्पादन गरेर अन्तर्राष्ट्रिय बजारमा निर्यात गर्न सक्छ। यद्यपी, आज पनि निर्यातको अवस्था अपेक्षा गरे अनुसार हुन सकेको छैन। आयात निर्यातको अवस्था सबैले देखेकै छौँ। धेरै आयात गर्छौ, न्यून रूपमा निर्यात गर्न सकिरहेका छौ। यसलाई वृद्धि गर्नुपर्छ। त्यसका लागि विशेष रूपमा निजी क्षेत्रले उद्योगको क्षेत्रमा उत्पादकत्व वृद्धि गर्नुपर्छ। त्यसको बजारीकरण गर्नुपर्छ।’
यस्तै, उनले विभिन्न प्राकृतिक प्रकोपहरूका कारण नेपालको बजार सुस्ताएको भन्दै यसलाई उठाउनका लागि थुप्रै नीतिगत कुराहरूलाई सरकारले प्राथमिकतामा राखेको बताए। 
उनले भने, ‘व्यापारको क्षेत्रमा हामी पछाडि छौँ। तर सम्भावनाको हिसाबले धेरै अगाडि छौ। सम्भावनालाई आत्मसाथ गर्नुपर्ने छ, प्रतिस्पर्धामा अगाडि बढ्नुपर्ने छ। उद्योगको क्षेत्रमा केही समस्याहरू आएका छन्। विभिन्न प्राकृतिक प्रकोपहरूका कारण पनि नेपालको बजार सुस्ताएको छ। यसलाई उठाउनुपर्छ र उठाउनको लागि थुप्रै नीतिगत कुराहरूलाई सरकारले प्राथमिकतामा राखेको छ।’