नेकपा एमालेका सांसद ठाकुर गैरेले सिंहदरबार भित्र संसद् भवनजस्तो महत्त्वपूर्ण निर्माण कार्य समयमा सम्पन्न नहुने कुराले परियोजनाको सुशासन, र विश्वासमा ठेस पुग्ने बताएका छन्।
प्रतिनिधिसभाको मङ्गलवारको बैठकमा बोल्दै उनले नयाँ वर्षको नीति तथा कार्यक्रमको बहस नयाँ संसदमा भवनमा हुनुपर्ने हो तर त्यो समयमै निर्माण किन नभएको भन्दै गुनासो गरे।
उनले भने,‘नीति तथा कार्यक्रमको बहस नयाँ संसदमा भवनमा हुनुपर्ने हो। संसद्को सिंहदरबार भित्रको महत्त्वपूर्ण काम समयमा सम्पन्न नहुने कुराले परियोजनाको सुशासन र विश्वासमाथि प्रश्न उठेको छ। त्यसले देशभरि दिने सन्देशमा ठेस पुगेको छ। सत्तापक्ष वा प्रतिपक्ष भन्दा पनि सिङ्गो संसद्को ध्यान जान जरुरी छ।’
साथै उनले क्रिकेट रङ्गशालाको काम पनि समयमा सम्पन्न गर्न आग्रह गरे।
उनले भने, ‘क्रिकेट रङ्गशालाको बारेमा प्रधानमन्त्रीले गर्नु भएको पहलकदमीको समाचार सुने। परियोजना सम्पन्न गर्ने र समयमा परियोजना सम्पन्न गर्नको लागि त्यसमा सुशासन कायम गर्ने धेरै महत्त्वपूर्ण पूर्ण कुरा हो। प्रधानमन्त्री ज्यूले सपथग्रहण गरेसँगै तीन महिनाभित्रै क्रिकेट रङ्गशाला बनाउने काम सम्पन्न गर्ने भन्नु भएको थियो। तर त्यो अवधि सकिन दुई दिन अगाडि उहाँले त्यो परियोजना किन सम्पन्न भएन ? अब कति समय लाग्छ ?’