आज जानकी नवमी धुमधामका साथ मनाइँदै छ। वैशाख शुक्ल नवमीको दिनलाई जानकी नवमीको रूपमा मनाउने गरिन्छ।
माता सीताको जन्मोत्सवको दिन आज खास गरी जनकपुरधामस्थित जानकी मन्दिरमा विभिन्न कार्यक्रम गरी मनाउनुका साथै देशभरिका विभिन्न स्थानमा रहेका सीता माताको मन्दिरमा विशेष पूजा पाठ गरिँदै छ।
जानकी नवमीको अवसरमा जनकपुरधामस्थित ऐतिहासिक दुधमती नदीमा साधुसन्त तथा भक्तजनहरूले साही स्नान गरेका छन्। सीता माता धर्तीबाट निस्किए पछि उनलाई धुत खुवाउन दुधमती नदी प्रकट भएको जनविश्वास रहेको छ। रामायणकालिण समयमा यस नदिमा दूध बग्ने र सोही दूध सीता माताले पिउने गरेको बताइन्छ।
जानकी नवमीको अवसरमा आज जानकी मन्दिरमा बधाई गान, प्राकट्य उत्सव,  जानकी डोला यात्रा, तिल्कोत्सव र दीप प्रज्वलन गर्ने कार्यक्रम रहेको जानकी मन्दिरका उत्तराधिकारी महन्त राम रोशन दासले जानकारी दिए।
मधेस प्रदेश सरकारले जानकी नवमीको अवसरमा मङ्गलवार सार्वजनिक बिदा समेत दिएको छ।