नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले पाँच/सात मिनेट बत्ती जानुलाई लोडसेडिङ भन्न नमिल्ने बताएका छन्।  
शुक्रवार पत्रकार सम्मेलनको आयोजनागरी प्राधिकरणको श्वेतपत्र सार्वजनिक गर्दै उनले पाँच/सात मिनेट बत्ती जानुलाई लोडसेडिङ नभएर स्मार्ट मिटरको ट्रिपिङ भएको स्पष्ट पारेका हुन्। 
उनले भने, ‘वार्षिक औसत ८२५ वटा ट्रिपिङ भएको छ, हरेक ग्राहकलाई भएको छ। हुनसक्छ कुनै ग्राहकलाई हजार पटक भयो होला कुनै ग्राहकलाई सय पटक भयो होला। चैत्र मसान्तसम्म तर औसतमा ८२५ पटक ट्रिपिङ भएको रहेछ। यो तथ्याङ्कले बोल्छ। यो स्मार्ट मिटर हो कसैले ढाटेर ढाँट्न मिल्दैन। र यसको जम्मा अवरोध हेर्दा एक पटकमा ३७ मिनेट प्रतिअवरोध सालाखालामा बत्ती गएको देखिन्छ। हामी अहिले पाँच/सात मिनेट बत्ती जाँदैमा सोसल मिडियामा व्यापक रूपमा लेख्छौँ–अब लोडसेडिङ गराउन लाग्यो भनेर। तर यो तथ्याङ्कलाई मनन गर्नुपर्छ। यो अवरोधलाई क्रमशः कम गर्दै लैजाने छ।’
एकातिर वर्षा यामको विद्युत् आंशिक रूपमा खेर गइरहेको छ भने अर्कोतिर सुख्खा याममा विद्युतको माग पूर्ण रूपमा आपूर्ति गर्न नसकिएको भन्दै आगामी दिनहरूमा यसको व्यवस्थापन अझ बढी चुनौतीको रूपमा देखिएको उनको भनाइ छ।
करिब २३ सय मेगावट डिमाण्ड आपूर्ति गर्ने सिस्टममा १३ हजार ७१४ मेगावटको सब्टिसन सञ्चालनमा रहेको उनले जानकारी गराए। 
‘हाम्रो सिस्टम ३ हजार ५११ मेगावट उत्पादनको क्षमता भएको हो, त्यसमा करिब २३ सय मेगावट डिमाण्ड आपूर्ति गर्ने सिस्टममा १३ हजार ७१४ मेगावटको सब्टिसन सञ्चालनमा छन्। त्यसले सिस्टमको सब्टिसन प्रणाली त मजबुत छ, त्यहाँ राम्रै खर्च भएको रहेछ तर नेटवर्क सञ्जाल चाहिँ कमजोर छ। यसले सिस्टम ट्रिपिङ भइरहेको देखिएको छ,’ उनले भने।