भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयको होस्टेलमा मृत भेटिएकी नेपाली छात्रा प्रिसा साहको विषयमा भारतीय विदेश मन्त्रालय ओडिशा राज्य सरकारसँग निरन्तर सम्पर्कमा रहेर अनुसन्धान गरिरहेको जनाएको छ। 
वीरगन्जकी साहको बिहीबार केआईआईटीको होस्टेलमा मृत अवस्थामा भेटिएकी थिइन्। नेपालस्थित भारतीय दूतावासले सार्वजनिक गरेको भारतीय विदेश मन्त्रालयको विज्ञप्तिमा ओडिशा राज्य सरकारसँग निरन्तर सम्पर्कमा रहेको उल्लेख गरिएको छ। 
‘भुवनेश्वरस्थित केआईआईटी विश्वविद्यालयकी नेपाली विद्यार्थीको दुःखद निधनले हामी अत्यन्तै दुःखी भएका छौँ। यस कठिन घडीमा हामी शोक सन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछौँ,’ विज्ञप्तिमा अगाडि भनिएको छ,‘ यस दुःखद घटनाबारे जानकारी प्राप्त भएदेखि नै विदेश मन्त्रालय ओडिशा राज्य सरकारसँग निरन्तर सम्पर्कमा रहेको छ। ओडिशा राज्य सरकारले मृतकको परिवारलाई पूर्ण सहयोग प्रदान गरेको छ र ओडिशा प्रहरीले हाल यस घटनाको विस्तृत अनुसन्धान गरिरहेको छ।’
भारत सरकारले सबै अन्तर्राष्ट्रिय विद्यार्थीहरूको सकुशलता, सुरक्षा र हितलाई निकै गम्भीरताका साथ लिएको पनि विज्ञप्तिमा भनिएको छ।  ‘हामी यस विषयबारे तत्कालै सूचना आदानप्रदान तथा समन्वयलाई सुनिश्चित गर्न नेपाली अधिकारीहरू, ओडिशा राज्य सरकार साथै केआईआईटी व्यवस्थापनसँग निरन्तर सम्पर्कमा छौँ,’ विज्ञप्तिमा भनिएको छ।
केआईआईटीमा कम्प्युटर विज्ञानकी स्नातक प्रथम वर्षकी १८ वर्षीय छात्रा प्रिसा बिहीबार मृत अवस्थामा भेटिएकी थिइन्। बिहीबार (वैशाख १८) साँझ प्रिसा कलेज होस्टेलको १११ नम्बर कोठामा झुन्डिएको अवस्थामा मृत फेला परेकी थिइन्। घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।
यसअघि गत फागुनमा सोही ठाउँमा नेपाली विद्यार्थी प्रकृति लम्साल मृत भेटिएकी थिइन्।