नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले श्रमिकहरुको सम्मान र हकहितको विषयमा नेपाल ट्रेड युनियन कांग्रेसले खेलेको भूमिका अत्यन्तै प्रशंसनीय रहेको बताएका छन्।
१३६ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा बोल्दै उनले नेपाल ट्रेड युनियन काँग्रेसले आफ्नो स्थापना कालदेखि नै श्रमिक अधिकार र राजनीति अधिकारको पक्षमा बलियो रूपमा उभिँदै आएको बताएका हुन्।
उनले भने, ‘श्रमिहरुको सम्मान र हकहितको विषयमा श्रमिक आन्दोलनलाई सक्षम र श्रममैत्री बनाउन नेपाल ट्रेड युनियन काँग्रेसले खेलेको भूमिका अत्यन्तै प्रशंसनीय छ। नेपाल ट्रेड युनियन काँग्रेसले आफ्नो स्थापना कालदेखि नै श्रमिक अधिकार र राजनीति अधिकारको पक्षमा बलियो रूपमा उभ्याउँदै आएको छ।’
साथै उनले नेपाली कांग्रेस श्रमिकहरुलाई सिमित अधिकार दिलाउने पक्षमा सधैँ अग्रस्थानमा रहेको बताए। उनले स्वदेशमै रोजगारी सिर्जना गरी युवा शक्ति निर्माण गर्दै श्रमिकहरूलाई पूर्ण अधिकार सम्पन्न बनाउनुपर्ने बताए।
उनले भने, ‘नेपाली कांग्रेस श्रमिहरुलाई अधिकार दिलाउने पक्षमा सधैँ अग्रस्थानमा छ। सामाजिक सुरक्षाले श्रमिकहरूको आफ्नो सम्मान गर्दै आफ्नो भविष्यको सुनिश्चित गर्ने विश्वास लिएको छु। स्वदेशमै रोजगारी सिर्जना गरी युवा शक्ति निर्माण गर्नु छ। श्रमिकहरूलाई पूर्ण अधिकार सम्पन्न बनाएर रोजगारमा वृद्धि गर्ने गरी सरकारको नीति तथा कार्यक्रममा नयाँ बजेट ल्याउनुपर्छ।’