नेकपा एमालेका सांसद पदम गिरीले आफ्नो राजनीतिक स्वार्थको रोटी सेक्नका लागि शिक्षकहरूलाई उत्तेजित बनाउन लागिएको बताएका छन्।
आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले जिम्मेवार तहमा रहेका व्यक्तिहरूले शिक्षकहरू विशुद्ध पेसागत हितको माग लिएर आन्दोलनमा आएपनि त्यसो हुन नदिएको बताएका हुन्।
उनले भने, ‘आज शिक्षकहरू लामो समयदेखि आन्दोलनमा छन्। विद्यार्थीहरूले शिक्षण संस्थामा भर्ना हुन पाएका छैनन्। कक्षा १२ को परीक्षा सञ्चालन हुन सकिरहेको छैन। हिजो सरकारको नेतृत्वमा आफू रहने। आफै बसेर शिक्षकसँग वार्ता र सहमति गर्ने। अनि त्यो सहमतिलाई कार्यान्वयन नगर्ने। तर अहिले सारा शिक्षाभित्रका समस्याहरू वर्तमान सरकारले गर्दा आएको हो। वर्तमान प्रधानमन्त्रीले गर्दा भएको हो भन्ने गरी जनतामा भ्रम पार्ने काम भइरहेका छन्। यो बिलकुल गलत हो।’
साथै उनले यसअघि एउटा कार्यक्रममा बोल्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ले सडक आन्दोलन नछाड्न शिक्षकहरूलाई आग्रह गरेका थिए। प्रचण्डको अभिव्यक्तिलाई लक्षित गर्दै सांसद गिरीले शिक्षकहरूलाई गलत बाटोमा हिँडाउनका लागि उत्प्रेरित गरेको बताए।