शिक्षक–कर्मचारीहरूले काठमाडौँ केन्द्रित आन्दोलन आज (शुक्रवार) २४ औँ दिन पनि जारी राखेका छन्। नेपाल शिक्षक महासङ्घको अगुवाइमा आन्दोलन भइरहेको हो।
आन्दोलनरत शिक्षकहरूलाई अबको तीन दिनभित्र विद्यालय फर्किने वातावरण बनाउन सर्वोच्च अदालतले आदेश जारी गरेपनि महासङ्घका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले शिक्षकको लडाइँ जारी रहने प्रतिक्रिया दिएका छन्। शुक्रवारको चर्को घाममा पनि शिक्षकहरूले सडकमै नाचगान गरेर साङ्केतिक प्रदर्शन गरेका थिए। उनीहरूले दबाबमूलक गीतहरू बजाएर नाचगान गरेका हुन्।
शिक्षकहरूले अघि सारेका माग एवं यसअघि सरकारसँग भएको सहमति अनुसार शिक्षकको ग्रेड मिलान, सञ्चिति बिदा, निवृत्तिभरण, मर्यादाक्रम, पद समायोजन जस्ता विषयहरूमा पनि सरकारले बेवास्ता गरेको आरोप लगाएका छन्। शिक्षा ऐनको माग गर्दै चैत २० गतेदेखि शिक्षकहरू काठमाडौँ केन्द्रित आन्दोलनमा छन्।