परराष्ट्र मन्त्री डा.आरजु राणा देउवाले सरकार परिवर्तन हुने हल्ला मात्र भएको बताएकी छन्।
थाइल्यान्डबाट फर्कने बित्तिकै विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै यस्तो बताएकी हुन्। सरकार परिवर्तनको हल्लाबारे आफू चकित भएको प्रतिक्रिया दिइन्।
‘देशमा रमाइलोका लागि यस्तो खबरहरू आउने गर्छ। अरू केही नभएपछि सरकार परिवर्तनको हल्ला आउँछ। सरकार बदल्नको लागि नेपालभित्र बसेर गर्नुपर्ने होला विदेश गएर यहाँको सरकार परिवर्तन हुँदैन,’ उनले भनिन्।
परराष्ट्रमन्त्री राणा थाइल्यान्डको बैंककमा २०८२ वैशाख ८ देखि १२ गतेसम्म आयोजित एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय आर्थिक तथा सामाजिक आयोगको ८१ औँ सत्रको अध्यक्षता गरी आज स्वदेश फर्केका हुन्।
उक्त अवसरमा उनीले अति कम विकसित, भूपरिवेष्टित विकासशील र साना टापु विकासोन्मुख मुलुकहरूका साझा चासोका विषयहरू उठान गरेका बताइन्।
उनले यो अवसरले अन्तर्राष्ट्रिय तथा क्षेत्रीय मञ्चमा नेपालको पहिचान र प्रतिनिधित्व अभिवृद्धि गरी राष्ट्रिय हितको प्रवर्द्धन गर्ने परराष्ट्र नीतिको उद्देश्य प्राप्त गर्न सहयोग पुगेका बताइन्।
उनले भनिन्,‘उक्त भ्रमणका अवसरमा सानो द्वीप विकासशील राज्यहरूका लागि संयुक्त राष्ट्र सङ्घका उच्च प्रतिनिधि अल्पविकसित, भूपरिवेष्ठित विकासशील र –संयुक्त राष्ट्र सङ्घको उच्च प्रतिनिधि महामहिम सुश्री रबाब फातिमासँग भेटघाट गरी आपसी हितका विविध विषयमा छलफल गरेको थिए। सो अवसरमा अति कम विकसित राष्ट्रबाट हुन लागेको नेपालको स्तरोन्नति स्नातकलाई सहज र दिगो बनाउने विषयमा छलफल केन्द्रित भएको थियो।’
उनले यस भ्रमणबाट नेपालले जेठ २ देखि ४, २०८२ मा काठमाडौँमा आयोजना गर्न लागेको सगरमाथा संवादको बारेमा संयुक्त राष्ट्र सङ्घका सदस्य राष्ट्रहरू, अन्तर्राष्ट्रिय संघसंगठन एवम् नागरिक समाजका प्रतिनिधिहरूलाई जानकारी दिने र उच्च तहको सहभागिताका लागि आमन्त्रण गर्ने मौका मिलेको पनि जानकारी गराइन्।