कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले अहिले देशमा अशान्ति मच्चाउने तत्त्वहरूले सरकारप्रति गलत किसिमको भाष्य निर्माण गरिरहेको बताएका छन्।
शुक्रवार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले दैनिक सरकार परिवर्तनको हल्ला चलाइरहेका र मुलुकमा अस्थिरता सिर्जना गर्ने प्रयत्न गरिरहेको बताएका हुन्।
उनले भने, ‘अहिले देशमा अशान्ति मच्चाउने तत्त्वहरूले एक किसिमको भाष्य निर्माण गर्दैछ। दैनिक सरकार परिवर्तनको हल्ला चलाइरहेका छन्। मुलुकमा अस्थिरता सिर्जना गर्ने प्रयत्न हुँदैछ। विभिन्न वादीका नाममा देशमा अशान्ति मच्चाइ धमिलो पानीमा माछा मार्ने प्रयत्न पनि विभिन्न कोणबाट भइरहेको देखिन्छ।’ 
साथै उनले संसद्को भूमिका परिवर्तन नआएको हुँदा सांसदप्रति जनताको धारणा केन्द्रित हुन नसकेको बताए। उनले सांसदहरू विधि विधानको प्रक्रिया भन्दा विकासका कुरामा बढी केन्द्रित हुनु आवश्यक रहेको बताए। 
उनले भने, ‘नेपालको संविधानले परिकल्पना गरेको व्यवस्थापिकाको मूल काम भनेको सरकार निर्माण गर्ने, विधायन सम्बन्धी काम गर्ने, बजेट निर्माण गर्ने एवम् सरकारको नीति तथा कार्यक्रमलाई पारित गर्ने नै हो तर परम्परागत रूपमा चल्दै आएको विकासे कार्यकर्ताको रूपमा संसद्को भूमिका परिवर्तन नआएको हुँदा सांसदप्रति जनताको धारणा संसद्को मूल भूमिकामा केन्द्रित हुन सकेको अवस्था छैन। त्यसैले सांसदहरू विधि विधानको प्रक्रिया भन्दा विकासका कुरामा बढी केन्द्रित हुनु स्वाभाविक हुन्छ।’