प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको समय हानिकारक र असामयिक प्रवित्तिहरु प्रकट भइरहेको बताएका छन्।
नेपाल प्रगतिशील प्राध्यापक सङ्गठनको ११ औँ राष्ट्रिय सम्मेलनमा बोल्दै उनले देशमा प्रतिगामी प्रवृत्ति, अति दक्षिणपन्थी र उग्र वामपन्थ प्रकट भइरहेको बताएका हुन्। 
उनले भने, ‘हामीले मिसन ८४ भनेका छौँ। मिसल त्यत्तिकै भनिएको होइन। देशका विभिन्न प्रकारका विकृति, विसङ्गतिहरू, हानिकारक र असामयिक प्रबृत्तिहरुको अन्त्यका लागि भनिएको हो।’
साथै उनले सुन्दर समाज सिर्जना गर्न दक्ष जनशक्ति निर्माण गर्नुपर्ने बताए। उनले दक्ष जनशक्ति निर्माण गर्न लोकतन्त्र चाहिने बताए। 
ओलीले देशको ढुकुटीले धान्न सक्ने र सम्भव हुने मागलाई सम्बोधन गर्ने भएकाले अविलम्ब वार्तामा बसेर शिक्षकहरूलाई विद्यालयमा फर्कन आव्हान गरेका छन्। 
उनले सरकार दमनकारी नभई लोकतान्त्रिक भएकाले ट्रेड युनियनको अधिकारको रक्षासहित पेसागत क्षेत्रका जायज मागलाई सम्बोधन गरिने बताए।
‘विद्यालय शिक्षा विधेयक संसदीय समितिमा विचाराधीन छ। ऐन ल्याउनकै लागि भनेर यत्रा धेरै शिक्षकहरू सडकमा आउनु पर्दैन। भर्ना अभियान सुरु भइसकेकाले। कृपया विद्यालयमा गएर भर्ना सुरु गर्नुहोस्। एसइइको उत्तरपुस्तिका परीक्षण गर्नुस्। एसइइमा ५२ प्रतिशत विद्यार्थी फेल गराइएको भन्ने मेरो भनाइले चित्त नदुखाउनुस्। गुणस्तरीय शिक्षाका लागि लाग्नुस्,’ प्रधानमन्त्री ओलीले भने, ‘शिक्षकहरूको आन्दोलनले विद्यार्थी र अभिभावकलाई घाटा छ। शिक्षकहरूलाई लाभ छैन। त्यस कारण अविलम्ब वार्तामा बसेर आन्दोलन अन्त्य गर्नुस्। प्रतिगामी तत्त्वहरू सल्बनाएका बेला आन्दोलन गर्ने उपयुक्त समय पनि होइन।’