विद्यालय शिक्षा ऐनको माग गर्दै शिक्षकहरू काठमाडौँ केन्द्रित भएपछि हिमाली जिल्ला मुगुमा रहेको सामुदायिक विद्यालयहरूको पढाइ एव भर्ना अभियान प्रभावित भएको छ।
विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८० तत्काल पारित गरियोस् भन्ने माग राख्दै नेपाल शिक्षक महासङ्घको आह्वानमा शिक्षकहरू काठमाडौँमा आन्दोलन गरिरहेका छन्।
०८१ को चैत २० गतेदेखि जारी आन्दोलनमा शिक्षकहरू होमिएपछि मुगुमा रहेका १ सय ४५ सामुदायिक विद्यालयका २० हजार भन्दा बढी विद्यार्थीहरूको पढाइ प्रभावित भएको हो।
मुगुका स्थानीय देवीलाल मल्लले शिक्षकहरूको माग जायज होला नहोला यसबारे सरकारले छिटो भन्दा छिटो किनारा लगाउनुपर्ने बताए। आन्दोलनका कारण मुगुका विद्यालय सुनसान भएको उनले बताए।
मुगुमा रहेका चार स्थानीय तहमा रहेका १ सय ४५ विद्यालयमा कार्यरत शिक्षक र कर्मचारीहरू एक हजार ६४ जनाले विद्यालय बन्द गर्दा १० हजार ४ सय ७६ छात्रा र १० हजार ३ सय २८ छात्राहरूको नियमित भर्ना, पठनपाठन, परीक्षालगायतका शैक्षिक गतिविधि प्रभावित भएको शिक्षा विकास तथा समन्वय इकाई मुगुका निमित्त कार्यालय प्रमुख खड्कराज भियालले बताए।