सप्तकोशी नदीमा नुहाउने क्रममा दुई जना बेपत्ता भएका छन्। 

सुनसरीको बराहक्षेत्र नगरपालिका–१ बराहक्षेत्र मन्दिरस्थित सप्तकोशीमा नुहाउने क्रममा सोमबार बिहान उनीहरू बेपत्ता भएका हुन् ।

बेपत्ता हुनेमा खोटाङको केपिलासगढी गाउँपालिका–४ बस्ने ४० वर्षीय नवराज बास्तोला र सुनसरीको इटहरी नगरपालिका–१६ बस्ने १६ वर्षीय जेनिश आचार्य रहेका छन्।

उनीहरूको खोजीका लागि सशस्त्र प्रहरी बल नेपालले गोताखोर परिचालन गरेको छ।

सुरक्षा बेस चतराबाट टोलीले खोजी गरेकामा फेला नपरेपछि सशस्त्र प्रहरी बल नेपाल नं. १ बराह बाहिनी मुख्यालय सुनसरीबाट सशस्त्र प्रहरी निरीक्षकको कमान्डमा ५ जना गोताखोरसहितको टोली परिचालन गरिएको डीएसपी शैलेन्द्र थापाले जानकारी दिए।