उखु खनजोतका लागि सहज गर्ने उद्देश्यले बाबा बैजुनाथ सुगर एण्ड केमिकल इण्डष्ट्रीज कटहरियाले कृषि यन्त्र ल्याएको छ। अहिले उखु खेतीका लागि काम गर्ने मजदुरको अभाव भएकाले कृषि यन्त्र उपयोगी मानिएको छ।
यन्त्रले कम समयमा सहज तरिकाले उखु खनजोत गर्न सकिने कटहरियाका उखु कृषक रामदयाल महतोले बताए। कृषि मजदुरको अभावमा यहाँका धेरै कृषकले खेती नै गर्न छाडिसकेको अवस्थामा यन्त्र भित्र्याएपछि बढ्ने उनले अनुमान गरे।
‘गाउँघरमा खेतमा काम गर्ने मजदुर पाइँदैन,’उनले भने, ‘अब कृषि यन्त्र भएन भने खेतीबाट नै विस्थापित हुनुपर्ने भइसकेको छ। बजारमा आएका नयाँ कृषि यन्त्रसँगै यहाँका कृषकले यसको प्रयोग पनि गरिरहेको उनले बताए। उनका अनुसार चिनी मिलले ल्याएको यन्त्र उपयोगी हुने र कृषकले अधिक प्रयोग गर्ने अनुमान गरिएको छ।
उखु कृषकलाई आधुनिक खेतीतर्फ आकर्षित गर्ने उद्देश्यले मिलले ‘पावर विडर’ नामक यो कृषि यन्त्र ल्याएको जनाएको छ।
उखु महाप्रबन्धक सियाराम साहका अनुसार मुरहन र खुट्टी प्रजातिको उखु गोडमेल गर्न यन्त्रले सहज हुनेछ। यसले खेती गर्दा आएका अनावश्यक झारपात निकाल्छ। उनले भने ‘उखुमा माटो चढाउन पनि सहज हुन्छ।’
अहिले यन्त्र परीक्षणको रूपमा ल्याएको र सफल भएकाले कृषकलाई चाडै नै वितरण गर्ने योजना बनाएको उनले जानकारी दिए। यन्त्र मिलले सहुलियत दरमा कृषकलाई उपलब्ध गराउने उखु महाप्रबन्धक साह बताए।
यहाँ अधिक कृषकलाई उखु खेतीतर्फ आकर्षण गर्ने उद्देश्य लिइएको मिल सञ्चालक बैजु बाबराले बताए। उखु कृषकको भुक्तानीमा समस्या नरहेको उल्लेख गर्दै उनले कृषि प्राविधिक सल्लाहसँगै अनुदानमा विभिन्न सहयोग गर्दै आएको बताए। यस जिल्लामा उखु बिस्तार गर्ने योजनाका साथ मिल प्रशासनले बेला बेलामा कृषि यन्त्र सहुलियतमा दिँदै आएको छ। यस्ता किसिमका विभिन्न आधुनिक कृषि उपकरण र औजारको प्रयोगले समय र श्रम दुवै कम हुने अपेक्षा गरिएको छ।