काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डङ्गोलले महानगरपालिकाले सञ्चालन गरेको मेलमिलाप संयन्त्र युरोपेली देशका लागि नौलो र अनुकरणीय बनेको बताएकी छन्।
उनले बेल्जियम भ्रमणबाट स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्ट कक्षमा भ्रमणका उपलब्धिका विषयमा बोल्दै महानगरपालिकाले प्रयोग गरेको विवाद समाधानको अभ्यास युरोपियन देशभन्दा राम्रो भएको प्रतिक्रिया पाएको बताएकी हुन्।
युरोपियन युनियनको निमन्त्रणामा चैत २३ गते बेल्जियम गएकी डङ्गोलले सहरी विकास योजना, न्यायिक प्रणाली र सांस्कृतिक सम्पदा सम्बन्धी बैठक, छलफल, भेटघाट र अवलोकन भ्रमण गरेकी छन्।
यस क्रममा स्थानीय सरकारसँग यी क्षेत्रको असल अभ्यास र अनुभव आदान प्रदान गरिएको जानकारी पनि दिइन्। नेपालबाट विभिन्न समयमा चोरी भएर बेल्जियमका विभिन्न स्थानमा पुगेका सामग्री फिर्ता गराउने विषयमा उपप्रमुख डङ्गोलले बेल्जियमस्थित नेपाली दूतावाससँग छलफल समेत गरेकी छन्।
इटुम्बहाल चन्द्रकेश महाविहारबाट चोरी भएको १२ औँ शताब्दीको टुँडाल, पशुपति रुद्र गाडेश्वरबाट हराएको लाकुलिस/पर्शुरामको मूर्ति र राष्ट्रिय सङ्ग्रहालयबाट हराएको ११ औँ शताब्दीको प्राचीन ग्रन्थ शिवधर्मोत्तर शास्त्र गाथा चित्र फिर्ता गराउने विषयमा कुराकानी भएको उनले जानकारी दिइन्।
उनले अन्तर्राष्ट्रिय सम्बन्ध सचिवालयलाई दूतावाससँग समन्वय गरेर सामग्री फिर्ता गराउने प्रक्रियालाई तत्काल टुङ्गोमा पुर्याउन समेत आग्रह गरिन्।