कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले याक पालनले हिमाली समुदायको आय आर्जन, खाद्य र पोषण सुरक्षा, प्राङ्गारिक खेती तथा वातावरणीय सन्तुलनमा महत्त्वपूर्ण योगदान पु¥याइरहेको बताएका छन्। 
प्रथम राष्ट्रिय याक दिवसको अवसरमा कृषि तथा पशुपन्छी विकास मन्त्रालयले आज ललितपुरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री अधिकारीले भौगोलिक चुनौती, युवा पुस्ताको बसाइसराई, चरन क्षेत्रको अभाव, प्रजननसम्बन्धी समस्या, जङ्गली जनावरको आक्रमण, जलवायु परिवर्तन जस्ता कारणले नेपालका याक चौँरीको सङ्ख्या घट्दो क्रममा रहेकाले याक चौँरी पालनको संरक्षण र प्रवर्द्धनका लागि सङ्गठित प्रयास आवश्यक रहेको बताए। 
मन्त्री अधिकारीले याक चौँरीको संरक्षण र दिगो उपयोगमार्फत हिमाली क्षेत्रको खाद्य सुरक्षा, जलवायु अनुकूलन, जैविक विविधताको संरक्षण र ग्रामीण जीवनशैलीको सशक्तीकरण नै अबको साझा लक्ष्य रहेको उल्लेख गरे।
मन्त्री अधिकारीले हिमाली जनजीवनको अविभाज्य अङ्ग बनेका याकचौंरीलाई संरक्षण, सुधार र व्यावसायिक रूपान्तरणमार्फत नव जीवन दिनु हाम्रो साझा उत्तरदायित्व रहेकोमा जोड दिए। 
मन्त्रालयको  अग्रसरतामा सरकारले याक र चौँरीको महत्वलाई आत्मसात् गर्दै प्रत्येक वैशाख ७ गतेको दिनलाई राष्ट्रिय याक दिवसको रूपमा मनाउने निर्णय गरेको उल्लेख गर्दै मन्त्री अधिकारीले याकको संरक्षण एवं प्रवर्द्धनका लागि सोलुखुम्बुको स्याङ्बोचेमा याक आनुवंशिक स्रोत केन्द्र सञ्चालन ल्याइएको र उक्त केन्द्रले याकको शुद्ध नस्ल संरक्षण, आनुवंशिक सुधार, प्रविधि विस्तार र प्रसारमा महत्त्वपूर्ण कामको सुरुवात गरेको बताए। 
मन्त्री अधिकारीले आगामी दिनमा याकचौंरीको दिगो विकास सुनिश्चित गर्न मन्त्रालय प्रतिबद्ध रहेको पनि उल्लेख गरे। 
‘याक चौँरी प्रवर्द्धन हिमाली जीवन, संस्कृति र पर्यावरण संरक्षण’ भन्ने मूल नाराका साथ पहिलो पटक मनाइएको राष्ट्रिय याक दिवसका अवसरमा याक पालक कृषकहरूलाई पनि सम्मान गरिएको छ। याकलाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन ,२०२९ ले संरक्षित वन्यजन्तुको सुचीमा उल्लेख गरेको छ। 
नेपालमा मात्र उत्पादन हुने विश्व प्रसिद्ध याक चिज ओमेगा—३ फयाट्टी एसिडको स्रोत रहेको, याकको दही प्रसिद्ध दूग्ध परिकारको रूपमा रहेको, याकको  दूधबाट बनेको छुर्पी हिमाली क्षेत्रका किसानहरूको आम्दानीको प्रमुख स्रोतको रूपमा रहेको र हिमाली क्षेत्रको सभ्यताको  रूपमा समेत याक रहेकोमा संरक्षणकर्मीहरूले जोड दिएका छन्। 
याकको छाला र पुच्छर बाट बन्ने वस्तुहरू निर्यातको प्रचुर सम्भावना बोकेका उत्पादन हुन्। याक पर्यटन प्रवर्द्धनमा पनि आकर्षणको केन्द्र बन्ने सम्भावना रहेको छ। याक मार्फत सामान ढुवानीदेखि खेतबारी जोत्नेसम्मका कार्यहरू हुँदै आएको छ।