मकवानपुर जिल्ला फुटबल सङ्घको आयोजनामा सातौँ सहिद स्मृति स्थानीय तह महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ।
विगतका वर्षहरूमा पुरुष फुटबल आयोजना गर्दै आएको सङ्घले सातौँ संस्करण भने राष्ट्रिय महिला गोल्ड कपका रूपमा लैजान लागेको हो। 
महिला फुटबलको विकास, प्रवर्द्धन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको शनिवार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ। वैशाख १९ गतेदेखि गौरीटार रङ्गशालामा सुरु हुने प्रतियोगितामा तीन विभागीय टिम सहित ५ वटा जिल्लाका क्लबले सहभागिता जनाउने छन्।
नेपाल आर्मी, नेपाल पुलिस, एपिएफ सहित मकवानपुर, चितवन, सर्लाही, रौतहट र बारा जिल्लाका गरी ८ वटा क्लबले सहभागिता जनाउने फुटबल सङ्घ मकवानपुरका सचिव छविलाल सुवेदीले जानकारी दिए। 
प्रतियोगिताको विजेताले ५ लाख र उपविजेताले ३ लाख नगद सहित ट्रफि र प्रमाणपत्र प्राप्त गर्नेछन् भने सर्वोत्कृष्ट खेलाडीले स्कुटर प्राप्त गर्ने आयोजकले जनाएको छ।
प्रतियोगिता सञ्चालनका लागि ६१ लाख लाग्ने आयोजकको अनुमान रहेको छ। प्रतियोगिताको प्रायोजकका रूपमा मकवानपुरका १० वटा स्थानीय तह, प्रदेश खेलकुद विकास परिषद् लगायत स्थानीय सङ्घ संस्था रहेका छन्।
यसैबीच, सङ्घले छैटौँ संस्करणको गोल्ड कप प्रतियोगिताको आय–व्यय विवरण पनि सार्वजनिक गरेको छ। 
आम्दानी र खर्चको विवरण अनुसार, गत वर्षको फुटबल प्रतियोगिता आर्थिक रूपमा घाटामा गएको देखाइएको छ। प्रतियोगिता आयोजना गर्न ९१ लाख ४८ हजार रुपैयाँ खर्च भएको छ भने जम्मा ८९ लाख २४ हजार रुपैयाँ आम्दानी भएको विवरणमा उल्लेख छ। प्रतियोगिताबाट २ लाख २४ हजार रुपैयाँ घाटा भएको आयोजकले जनाएको छ।