काठमाडौँस्थित नागार्जुन नगरपालिका–७ रामकोटमा रहेको वद्रिनारायण धाममा यही वैशाख १९ गतेदेखि सुरु हुने प्राण प्रतिष्ठा एवम् अनुष्ठानको पूर्वसन्ध्यामा शनिवार पदयात्राको आयोजना गरिएको छ। 
नारायण पोखरेल प्रतिष्ठान र अल नेपाल स्पोर्टस् फाउन्डेसनको आयोजनामा भएको पदयात्रा सिता पाइला चोकदेखि सुरु भई बद्रिनारायण धाममा पुगेर विसर्जन गरिएको थियो। आगामी वैशाख १९ देखि २७ गतेसम्म हुने अनुष्ठान कार्यक्रमको पूर्व जागरणका लागि पदयात्रा एवम् वाकाथुन गरिएको पण्डित दिनबन्धु पोखरेलले बताए।
‘घर–घरबाट उठौँ, बस्ती बस्तीबाट जुटौँ, यो महान् अभियानमा कोही नछुटौँ। सनातनी गौरव नेपालीको सान, दर्शन गरौँ बद्रिनारायण धाम,’ नारा दिएर हामी महान् अभियानमा छौँ। नेपाली कला, संस्कार र संस्कृति विश्वभर फैलाउने अभियानमा छौँ, पदयात्राको समापन समारोहमा सम्बोधन गर्दै पोखरेलले भने।
नेपालीहरूले अब चार धामका लागि भनेर भारत जानुपर्ने बाध्यता नहुने भन्दै अब बद्रिनारायण धाम नै चार धाम मान्न सकिने उनको दाबी थियो। धाम निर्माणका लागि विश्वभरका नेपालीहरूको साथ रहेको उल्लेख गर्दै एउटा ठुलो सपना पूरा भएकोमा गर्व समेत गरे।
पदयात्रामा नागार्जुन नगरपालिका भित्रका प्राय सबै सङ्घसंस्था, आमा समूहहरू, क्लब, सरकारी निकायका प्रतिनिधिहरूको उल्लेख्य सहभागिता थियो । धिमे र पन्चे बाजा, नाचगानसहित पदयात्रामा सहभागी भएकाहरूले काठमाडौँको विकट मानिने रामकोटमा धाम निर्माणपछि अब सुगम बन्दै गएकोमा खुसी व्यक्त गरे। प्रतिष्ठाका अवसरमा विश्व भजन प्रतियोगिताको पनि आयोजना गरिने कार्यक्रममा जानकारी दिइयो।
शनिवार नै पण्डित पोखरेलले वद्रिनारायण धाम लेखिएको बोर्ड पनि अनावरण गरेका छन्। 
प्रतिष्ठामा विश्वका ८० देशबाट भक्तजनहरू रामकोट पुग्ने आयोजकको दाबी छ। भारतबाट पनि प्रतिष्ठित सनातन धर्मका प्रवद्र्धकहरु धाममा पुग्ने बताइएको छ। प्रतिष्ठा एवम् अनुष्ठानको वैशाख १९ गते राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गर्ने कार्यक्रम तय भएको छ।  
करिब एक सय रोपनी जग्गामा निर्माणमा भइरहेको धामको ४० प्रतिशत मात्र काम सकिएको छ। जसका लागि अनुमानित १४ करोड रकम खर्च भइसकेको र गुरुयोजना अनुसार सम्पूर्ण काम सक्न थप एक अर्ब रुपैयाँ बजेट आवश्यक पर्ने प्रतिष्ठानले जनाएको छ।