नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले कहिले कसैसँग कहिले कसैसँग मिल्दा त्यसको परिणाम जनतालाई राम्रो नभएको बताएका छन्। 
शनिवार नेवा: राष्ट्रिय मुक्ति मोर्चाको तेस्रो राष्ट्रिय सम्मेलनको उद्घाटन समारोहमा बोल्दै उनले माओवादी आत्मालोचनासहित उत्पीडित वर्ग र समुदायको हक अधिकारलाई समाजवादको दिशामा अगाडि बढाउन सधैँ प्रतिबद्ध रहेको बताएका हुन्। 
उनले भने, ‘हामीले कहिले कसैसँग कहिले कसैसँग सहमति गर्दा त्यसको परिणाम जनतालाई राम्रो भएन। जबसम्म सम्पूर्ण रूपले नेवा समुदायको पहिचान स्थापित हुनेछैन तबसम्म माओवादी केन्द्रले तपाईँहरूको साथ छोड्ने छैन। तपाईँहरू हामीलाई साथ दिनुहोस्। अहिले प्रतिगामी षड्यन्त्र जो देखा पर्न खोजेको छ त्यो अहिलेको सरकारका गलत काम क्रियाकलापका कारणले धमिलो पानीमा माछा मार्ने दुस्साहसजस्तो गरेका छन्। त्यो सफल हुने छैन। सरकारका गलत क्रियाकलापका विरुद्ध खबरदारी पनि हो। र प्रतिगामी षडयन्त्रका विरुद्ध चुनौती पनि हो। यसलाई सफल हुन दिइने छैन।’ 
साथै उनले नेवा समुदायको पहिचान पूरै स्थापित नभएसम्म माओवादी केन्द्रले साथ नछाड्ने बताए। उनले अहिलेको सरकार र राजावादीहरूलाई लक्षित गर्दै प्रतिगामी षड्यन्त्रका विरुद्ध एकजुट हुन समेत आग्रह गरे।