मोरङको उर्लाबारीमा स्कुटर दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ।
दुर्घटनापछि स्कुटरले माथिबाट थिचिरहेको अवस्थामा उर्लाबारी नगरपालिका–८ का ५० वर्षीय नरकुमार लिम्बू शनिबार बिहान ६ः३५ बजेतिर मृत भेटिएको प्रहरीले जनाएको छ।
उर्लाबारी–८ जरुवापानीस्थित भित्री सडक खण्डमा प्र १–०२–०४० प ७८८१ नम्बरको स्कुटरले थिचेर मृत्यु भएको अवस्थामा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय उर्लाबारीका इन्स्पेक्टर रन्जनकुमार बराल नेतृत्वको टोली घटनास्थल पुगेको थियो।
सडकको कल्भर्टदेखि अन्दाजी ६ फुट तल खसेको अवस्थामा स्कुटरले थिचिरहेको शव फेला परेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार कल्भर्टबाट खसेपछि स्कुटरले थिचेर उठ्न नसक्दा लिम्बूको मृत्यु भएको हुनसक्ने अनुमान गरेको छ। यद्यपि, मृत्यु दुर्घटनामा परेर भएको हो कि हैन भनेर अनुसन्धानपछि मात्रै पत्ता लाग्ने प्रहरीको भनाइ छ।
प्रहरीले कानुनी प्रक्रिया पूरा गरी शवलाई पोस्टमार्टमका लागि उर्लाबारीको मंगलबारेस्थित मदन भण्डारी अस्पताल एवं ट्रमा सेन्टर पठाएको छ। घटनाको थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।