रौतहटको छुट्टाछुट्टै स्थानमा गएराती भएको आगलागीमा करिब दुई करोड मूल्य बराबरको धनमाल जलेर नष्ट भएको छ। बैधिमाइ नगरपालिका ५ कोपुवामा भएको आगलागीमा एक करोड ७६ लाख बराबरको क्षति पुगेको प्रहरीले जानकारी दिएको छ।
प्रहरीका अनुसार स्थानीय धमेन्द्र जयसवालको तीन तल्लाको पक्की घरमा आगलागी भएको हो। घरको अन्डर ग्राउण्ड गोदाममा विधुतको तार सर्ट भई आगलागी भएको रौतहट प्रहरी निरीक्षक उमाशंकर प्रसादले जानकारी दिए।
उनका अनुसार अन्डर ग्राउण्ड गोदाममा रहेका कपडा र चप्पल लगायत गरी एक करोडको क्षति पुगेको छ। एक थान मोटरसाइकल र घरको अन्डर ग्राउण्ड गरी ७६ लाखको क्षति पुगेको उनले बताए। आगो सुरक्षाकर्मी, स्थानीयवासी र गौर तथा बैधिमाइ नगरपालिकाको दमकलको सहयोगमा आगो नियन्त्रणमा आएको प्रहरी निरीक्षक उमाशंकर बताए।
यसैगरि, गौर नगरपालिका वाड न ४ कबिर चोकमा रहेको कृष्णनन्द पटेलको कच्ची घरमा आगलागी भएको प्रहरीले जनाएको छ। सोही घरमा रहेको मोटरसाइकल वर्कसपमा रहेको ५ थान मोटरसाइकल, वर्कसपमा रहेका टायर, मोबिल, हावा भर्ने टङ्की लगायत गरी १४ लाख बराबरको क्षति पुगेको रौतहट प्रहरीले जानकारी दिएको छ। सो घरमा रहेको नस्ता पसलमा पनि आगलागीबाट क्षति पुगेको छ।
घर, वर्कसप र नस्ता पसल गरी २१ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ। दुवै आगलागीका घटनामा मानवीय र पशु चौपयमा क्षति नभएको र घटनाका बारेमा आवश्यक अनुसन्धान भई रहेको रौतहट प्रहरीले जानकारी दिएको छ।