सभामुख देवराज घिमिरेले कानुन कार्यान्वयनको सम्बन्धमा सांसदहरूले अध्ययन गर्ने आधार नभएको बताएका छन्।
शनिवार राष्ट्रिय शासन शिखर सम्मेलन २०२५ कार्यक्रममा बोल्दै उनले बनेका कानुनको प्रभावकारी कार्यान्वयनको लागि सांसदहरूले सोच्ने, बुझ्ने र अध्ययन गर्ने आधार नभएको बताएका हुन्।
उनले भने, ‘बनेको कानुनको कार्यान्वयन कसरी भइरहेका छन् भन्ने कुरा सांसदले जति सांसद हुनुहुन्छ उहाँहरूलाई सरकारले कसरी काम गरिरहेको छ हामीले बनाएका कानुनहरू कार्यान्वयनमा कसरी गईरहेका छन्। त्यसमा सुधार गर्नुपर्ने जरुरी छ कि छैन। संशोधन गर्न जरुरी छ कि छैन। कानुनको प्रभावकारी कार्यान्वयनको लागि सरकारलाई कसरी निर्देशन गर्ने यतापट्टि सोच्ने बुझ्ने अध्ययन गर्ने आधार छैन। उहाँहरू जे काम गर्दै गइरहेको छ त्यसमा व्यस्तताका साथ काम गर्न परेको छ।’
सभामुख घिमिरेले जिम्मेवारी तहमा पुगेकाहरू इमान्दार हुनुपर्ने बताए। ‘जिम्मेवारी तहमा सुशासन दिने दृढता हुनुपर्यो जिम्मेवारी तहमा इमान्दार हुनुपर्यो र त्यो गर्छु भन्ने प्रतिबद्धताको साथै समर्पणको पनि जरुरी हो,’ उनले भने।
उनले पछाडि परेका समुदायलाई अगाडि बढाउन परिणाममुखी ढङ्गबाट काम गर्नुपर्ने बताए।
‘समाजमा पछाडि परेको समाजलाई अगाडि बढाउने कुरा लामो प्रक्रिया हो। भन्ने बित्तिकै आउँदैन। कानुनी प्रवर्धनले मात्र पनि त्यो आवश्यकता पुरा गर्न सक्दैन। तर नीति बनाएर कार्यान्वयनमा लागेपछि कुन हदसम्म पछाडि पारिएका परेका वा दुर्गम क्षेत्रकाहरुलाई समावेश गर्ने कुरा कति भएको छ यसको समिक्षा गर्दा देखाउने कुरामा भइरहेको छ भन्दा पनि परिणाममुखी ढङ्गबाट जानुपर्छ,’ उनले भने।