मकवानपुरका प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठले बिहीबार पक्राउ गरिएकालाई तत्काल रिहा गर्ने आश्वासन दिएकी छन्।
प्रदर्शनकारीले जिल्ला प्रशासन (सिडियो) कार्यालय घेराउका लागि अघि बढ्दै गर्दा मकवानपुर प्रहरी प्रमुख विश्वराज खड्का र प्रजीअ श्रेष्ठको निर्देशनमा पक्राउ गरेकालाई छाड्ने आश्वासन पाएको आन्दोलनकारीहरूको भनाइ छ।
हेटौडा अस्पतालको बोर्डमा केरमेट गरेको घटनामा संलग्न रहेको भन्दै बिहीबार प्रहरीले छ जनालाई पक्राउ गरी मुद्दा चलाएको थियो। हेटौँडा अस्पताल र मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानबीच विवाद चर्किँदै आएको छ।
प्रहरीले बोर्ड परिवर्तन गर्ने हेटौडाका सुनिल गिरी, सफल अधिकारी, विशालराज महत, अस्मित अधिकारी, समुन्द्र दाहाल र राजकुमार घिमिरेलाई सर्वपक्षीय भेला भनी बोलाएर दिनभर होल्ड गराएपछि हिरासतमा राखिएका ती युवाहरू हिरासत भित्रै अनसन बसेका थिए।
हिरासतमा रहेका ६ जनाले नै हेटौँडा अस्पताल मकवानपुर जनताको अस्पताल भएको दाबी गर्दै आइरहेका छन्। नेपाल तरुण दल हेटौँडा नगर सभापति सुनिल गिरीले आन्दोलन आम मकवानपुरबासीको भएकाले हिरासत कक्षमा समेत अनसन बसेर आन्दोलन गरिरहेको जानकारी दिए।
सर्वपक्षीय भेला गर्ने बहानामा प्रहरीले उनीहरूलाई अन्तिम समयमा नियन्त्रणमा लिइएको थियो। २०७६ साल आश्विन २ गते बागमती प्रदेश सरकारले स्थापना गरेको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत हेटौँडा अस्पताल सञ्चालन गर्ने निर्णय भएको थियो।