गृहमन्त्री रमेश लेखकले नेपाल प्राकृतिक जोखिमको अत्यन्तै जोखिमपूर्ण भूगोलमा रहेको बताएका छन्। शुक्रवार प्रादेशिक आपत्कालीन गोदाम घर हस्तान्तरण कार्यक्रममा बोल्दै उनले हिमाल, पहाड, तराई र मधेस सबै ठाउँमा विपद्का जोखिमहरू रहेकाले जनतालाई जोगाउनका लागि तयार रहनुपर्ने बताएका हुन्। 
उनले भने, ‘हामी प्राकृतिक जोखिमको अत्यन्तै जोखिमपूर्ण भूगोलमा छौँ। आज भन्दा करिब ४ हप्ता जति भयो एकै हप्ता तीन वटा भूकम्प बेहोर्नुपर्‍यो। जुनसुकै बेला जे पनि हुन सक्छ। त्यो मानसिकताका साथ तयारीमा बस्न जरुरी छ। ७२ सालको भूकम्प पोखरा केन्द्रबिन्दु भएर आएको थियो। भूकम्पको उच्च जोखिम छ। मनसुनको बेलामा अविरल वर्षका कारणले जाने बाढी, पहिरो र डुबानको जोखिम छ। हिमालमा हिउँदमा चिसो लाग्ने, लेक लाग्ने, तराईमा गर्मीमा ‘लू’ लाग्ने, आजभोलिको जस्तो सिजनमा आगलागी हुने, पहाडमा चट्याङ खस्ने, तराईमा अरू विभिन्न खालका विपद्का समस्याहरू हुने गर्दछन्। हिमाल,पहाड, तराई र मधेस सबै ठाउँमा विपद्का जोखिमहरू छन्। जोखिमबाट जनतालाई जोगाउनका लागि हामी तयार रहनुपर्छ।’
साथै उनले जुनसुकै बेला जे पनि हुन सक्छ भन्ने मानसिकताका साथ तयारीमा बस्न जरुरी रहेको बताए। उनले जोखिमबाट जनतालाई जोगाउनका लागि हामी सबै तयार रहनुपर्ने बताए। 
यस्तै उक्त कार्यक्रममा बोल्दै गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विपद्का दृष्टिकोणले गण्डकी प्रदेश जोखिमयुक्त प्रदेश भएको बताए। उनले बाढी, पहिरोको जोखिम गण्डकी प्रदेशमा अलि बढी नै रहेको बताए।
उनले भने, ‘गण्डकी प्रदेश अलिकति जोखिमयुक्त प्रदेश पनि हो विपतको दृष्टिकोणबाट। अति नै जोखिमयुक्त विपतमा पर्छ गण्डकी प्रदेश। बाढी,पहिरोको जोखिम गण्डकी प्रदेशमा अलि बढी नै छ। ’